कीवर्डहरू -

गुगलको नयाँ कदम : क्रिएटर र प्रकाशकका लागि सर्च प्रोफाइल फिचर

गुगलको नयाँ कदम : क्रिएटर र प्रकाशकका लागि सर्च प्रोफाइल फिचर

काठमाडौं । गुगलले सर्च प्लेटफर्ममा क्रिएटर तथा प्रकाशकहरूका लागि ‘सर्च प्रोफाइल’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ । यस फिचरमार्फत उनीहरूले गुगल सर्च र डिस्कभरमा आफ्नो प्रोफाइल कसरी देखिने भन्ने व्यवस्थापन गर्न सक्नेछन् ।

यस नयाँ सुविधाअन्तर्गत क्रिएटर तथा प्रकाशकहरूको नवीनतम लेख, भिडियो र सामाजिक सञ्जाल पोस्टहरू एकै स्थानमा देखाइने व्यवस्था गरिएको छ ।

हाल यो सुविधा अमेरिकामा मात्र उपलब्ध रहेको छ । यसलाई प्रयोग गर्नका लागि युट्युब, इन्स्टाग्राम, एक्स (ट्विटर) वा टिकटकमध्ये कम्तीमा एक प्लेटफर्ममा निश्चित फलोअर वा सब्स्क्राइबर संख्या पूरा गरेको हुनुपर्नेछ ।

गुगल सर्च प्रोफाइल मोबाइलमा गुगल सर्चको नलेज प्यानल, डिस्कभर फिड वा प्रत्यक्ष लिंकमार्फत हेर्न सकिन्छ । कम्पनीका अनुसार यो फिचरले दर्शकलाई क्रिएटर र प्रकाशकहरूलाई सजिलै फलो गर्न मद्दत गर्ने र उनीहरूको सामग्रीको पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ ।

प्रयोगकर्ताले गुगलले स्वतः तयार गरेको प्रोफाइल दाबी गर्न वा आफ्ना सामाजिक सञ्जाल खाता जोडेर नयाँ प्रोफाइल निर्माण गर्न सक्नेछन् । प्रोफाइलमा फोटो, परिचय, वेबसाइट, सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्मका लिंकहरू समावेश गर्न सकिनेछ ।

यो सुविधा प्रयोग गर्नका लागि क्रिएटर तथा प्रकाशकहरूले समर्थित प्लेटफर्ममा न्यूनतम फलोअर संख्या पूरा गर्नुपर्नेछ । युट्युब, इन्स्टाग्राम वा एक्समा कम्तीमा १ लाख फलोअर तथा टिकटकमा कम्तीमा ३ लाख फलोअर आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

गुगलका अनुसार कुनै प्रयोगकर्ताले आफ्नो प्रोफाइल दाबी गरेमा गुगल नलेज प्यानल स्वतः सिर्जना हुन सक्छ । यदि पहिले नै नलेज प्यानल उपलब्ध छ भने त्यसलाई थप जानकारी, प्रोफाइल फोटो, हालका सामाग्री र प्रत्यक्ष प्रोफाइल लिंकमार्फत अझ अद्यावधिक गरिनेछ ।

कम्पनीले यो सुविधा प्रारम्भिक चरणमा केवल अमेरिकामा मात्र उपलब्ध हुने जनाएको छ । आगामी दिनमा थप सुधार गर्दै यसलाई अन्य देशका क्रिएटर तथा प्रकाशकसम्म विस्तार गर्ने योजना रहेको पनि बताइएको छ । यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर १८ वर्ष वा सोभन्दा माथि हुनुपर्नेछ ।