काठमाडौं । युट्युबले नयाँ क्रिएटरका लागि मोनिटाइजेसनमा प्रवेश गर्न आवश्यक मापदण्ड थप कडा बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार क्रिएटरले विज्ञापन तथा सब्सक्रिप्सनबाट आम्दानी सुरु गर्न पछिल्लो ३६५ दिनमा कम्तीमा ८ हजार योग्य वाच आवर वा पछिल्लो ९० दिनमा २ करोड योग्य Shorts views पूरा गर्नुपर्नेछ ।
यसअघि १ हजार सब्सक्राइबरसहित पछिल्लो १२ महिनामा ४ हजार वाच आवर वा पछिल्लो ९० दिनमा १ करोड Shorts views पूरा गरेपछि मोनिटाइजेसनका लागि योग्य हुने व्यवस्था थियो । नयाँ नियम १ फेब्रुअरी २०२७ देखि लागू हुनेछ ।
युट्युबका अनुसार नयाँ मापदण्डले हाल YouTube Partner Program मा आबद्ध रहेका क्रिएटरलाई भने असर गर्ने छैन ।
Shorts बाट आम्दानी गर्न पनि न्यूनतम भ्यु आवश्यक
युट्युबले Shorts Creators Pool बाट आम्दानी गर्न आवश्यक मापदण्डमा पनि स्पष्टता ल्याएको छ । यसअन्तर्गत क्रिएटरले पछिल्लो ९० दिनमा कम्तीमा १ करोड योग्य Shorts views कायम राख्नुपर्नेछ ।
यदि कुनै च्यानलले तोकिएको १ करोड भ्यु पूरा गर्न सकेन भने पनि च्यानल YouTube Partner Program मै रहनेछ र लामो भिडियोबाट आम्दानी गर्न सक्नेछ । ९० दिनको अवधिमा पुन: १ करोड Shorts views पूरा गरेपछि Shorts बाट हुने आम्दानी पनि सुचारु हुनेछ ।
युट्युबका अनुसार प्लेटफर्ममा दैनिक २०० अर्बभन्दा बढी Shorts views पुग्न थालेका छन् भने टेलिभिजनमार्फत दैनिक एक अर्ब घण्टाभन्दा बढी सामाग्री हेरिन थालेको छ । बढ्दो प्रयोग र प्रतिस्पर्धालाई ध्यानमा राख्दै नयाँ व्यवस्था ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ मापदण्ड लागू भएपछि विशेष गरी Shorts केन्द्रित नयाँ क्रिएटरका लागि मोनेटाइजेसन कार्यक्रममा प्रवेश गर्न चुनौती थपिने देखिन्छ । आम्दानी सुरु गर्न क्रिएटरले निरन्तर ठूलो दर्शक संख्या आकर्षित गर्नुपर्ने भएकाले नयाँ तथा साना च्यानलमा यसको प्रभाव बढी पर्न सक्नेछ ।
Premium Lite पनि विस्तार हुँदै
युट्युबले Premium Lite सदस्यता सेवा पनि युट्युब प्रिमियम उपलब्ध रहेका सबै देशमा विस्तार गर्ने जनाएको छ । Premium Lite का सदस्यले हेर्ने सामाग्रीको वाच टाइम र भ्युका आधारमा क्रिएटरले सदस्यता आम्दानीको हिस्सा प्राप्त गर्नेछन् ।
युट्युबका अनुसार Premium Lite बाट प्राप्त आम्दानीमध्ये ५५ प्रतिशत लामो भिडियोका क्रिएटर र ४५ प्रतिशत Shorts क्रिएटरले प्राप्त गर्नेछन् । कम्पनीका अनुसार Premium सदस्यको संख्या बढ्दै गएसँगै क्रिएटरको आम्दानी समेत बढ्न सक्छ ।
Premium सदस्य बनेका प्रयोगकर्ताबाट क्रिएटरले विज्ञापनमार्फत प्राप्त गर्ने आम्दानीको तुलनामा औसतमा बढी आम्दानी गर्न सक्ने युट्युबले जनाएको छ ।
Premium Lite मा अधिकांश भिडियो विज्ञापनरहित हेर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसका साथै भिडियो डाउनलोड गरेर अफलाइन हेर्न तथा ब्याकग्राउन्डमा भिडियो चलाउने सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।
आईसीटी समाचार