काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले बीचमै नेपाल फर्किनुपरे अब त्यहीँसम्मको पढाइको क्रेडिट नेपाल ल्याएर अध्ययनलाई निरन्तरता दिन सक्ने भएका छन् ।
विश्वविद्यालय अनुदान आयोगले जारी गरेको ‘एकेडेमिक क्रेडिट बैंकको स्थापना र सञ्चालन निर्देशिका २०८२’ ले विदेशमा आर्जन गरेको क्रेडिट नेपालका विश्वविद्यालयमा स्थानान्तरण गर्न सकिने व्यवस्था गरेको हो । यससँगै विदेशमा अध्ययनरत विद्यार्थीको पढाइ विभिन्न कारणले बीचमै रोकिएमा नेपाल फर्किएर पुन: अध्ययन अघि बढाउने नीतिगत बाटो खुलेको छ ।
नयाँ व्यवस्थाअनुसार विदेशमा कानुनबमोजिम स्थापित विश्वविद्यालय वा सोसरहका उच्च शैक्षिक संस्थामा अध्ययन गरी हासिल गरेको क्रेडिट विद्यार्थीले आयोगअन्तर्गतको एकेडेमिक क्रेडिट बैंकमा जम्मा गर्न सक्नेछन् । आवश्यकताअनुसार भविष्यमा उक्त क्रेडिट ट्रान्सफर तथा उपयोग गर्न सकिनेछ ।
तर विदेशमा पढेको सबै क्रेडिट स्वत: नेपालका विश्वविद्यालयमा मान्य हुने भने छैन । विद्यार्थीले क्रेडिट ट्रान्सफर गर्नुअघि आफूले रोजेको विश्वविद्यालयले सम्बन्धित क्रेडिट स्वीकार गरी उपयोग गर्ने वा नगर्ने विषयमा सुनिश्चित गर्नुपर्नेछ । अन्तिम रूपमा क्रेडिट स्वीकार गर्ने अधिकार भने सम्बन्धित विश्वविद्यालयमै रहनेछ ।
निर्देशिकाले क्रेडिट ट्रान्सफरको सीमा पनि तोकेको छ । विद्यार्थीले अध्ययन गर्न चाहेको सम्बन्धित पाठ्यक्रमको कुल क्रेडिटको ५० प्रतिशतभन्दा बढी क्रेडिट स्थानान्तरण गर्न पाइने छैन । त्यस्तै, कुनै सेमेस्टर वा एक वर्षको अध्ययन अवधि पूरा नभएको अवस्थामा सो अवधिको क्रेडिट ट्रान्सफर नहुने व्यवस्था गरिएको छ ।
विद्यार्थीले एकेडेमिक क्रेडिट बैंकमा जम्मा गरेको क्रेडिटको उपयोगका लागि पनि निश्चित समयसीमा तोकिएको छ । स्नातक तहको क्रेडिट सात वर्षसम्म र स्नातकोत्तर तहको क्रेडिट पाँच वर्षसम्म ट्रान्सफर तथा उपयोग गर्न सकिनेछ । तोकिएको अवधिपछि भने त्यस्तो क्रेडिट प्रयोग गर्न नमिल्ने व्यवस्था छ ।
यो व्यवस्था विदेशबाट नेपाल फर्किने विद्यार्थीमा मात्र सीमित छैन । नेपालमा अध्ययन गर्दा गर्दै केही समयका लागि विदेश जानुपर्ने विद्यार्थीले पनि आफ्नो आर्जित क्रेडिट क्रेडिट बैंकमा सुरक्षित राख्न सक्नेछन् । यसले अध्ययनका क्रममा रोजगारी वा अन्य कारणले विदेश जानुपर्ने विद्यार्थीलाई पछि नेपाल फर्किएर बाँकी पढाइ पूरा गर्ने अवसर दिनेछ ।
आयोगमै रहने एकेडेमिक क्रेडिट बैंकले विद्यार्थीको क्रेडिट प्रमाणीकरण, सञ्चय र ट्रान्सफरसम्बन्धी काम गर्नेछ । विद्यार्थीले आफूले अध्ययन गरेको संस्थाबाट प्राप्त क्रेडिटलाई आवश्यक प्रक्रिया पूरा गरी बैंकमा अभिलेख गराउनुपर्नेछ ।
क्रेडिट ट्रान्सफरका लागि भने विद्यार्थीले रोजेको विश्वविद्यालयको पाठ्यक्रमसँग आफूले विदेशमा अध्ययन गरेको विषयवस्तु मिल्छ कि मिल्दैन भन्ने विषय महत्वपूर्ण हुनेछ । सम्बन्धित विषय वस्तु नमिलेको अवस्थामा क्रेडिट स्वीकार नहुने निर्देशिकामा उल्लेख छ ।
विद्यार्थीले रोजेको विश्वविद्यालयले क्रेडिट उपयोग गर्ने सहमति दिएपछि आयोगमा ट्रान्सफरका लागि निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि आयोगले सम्बन्धित विश्वविद्यालयलाई विद्यार्थीको क्रेडिट ट्रान्सफरसँग सम्बन्धित विवरण उपलब्ध गराउनेछ ।
अन्तिम स्वीकृति भने सम्बन्धित विश्वविद्यालयको प्राज्ञिक परिषद् वा अधिकारप्राप्त निकायबाट लिनुपर्नेछ । स्वीकृति दिनुअघि विश्वविद्यालयले विद्यार्थीले विदेशमा अध्ययन गरेका अन्तरविधागत विषयको क्रेडिट आफ्नो विधा वा विषयसँग शैक्षिक रूपमा समान छ कि छैन भन्ने यकिन गर्नेछ ।
यस व्यवस्थाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले बीचमै अध्ययन छाडेर नेपाल फर्किनुपर्दा पुन: सुरुदेखि पढ्नुपर्ने अवस्था अन्त्य गर्ने अपेक्षा गरिएको छ । साथै, अध्ययनका क्रममा देश परिवर्तन वा अस्थायी रूपमा विदेश जानुपर्ने विद्यार्थीको शैक्षिक प्रगतिलाई पनि क्रेडिट बैंकमार्फत सुरक्षित राख्ने आधार तयार भएको छ ।
आईसीटी समाचार