काठमाडौं । मधेश प्रदेशमा उत्पन्न अशान्त परिस्थितिका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षा भदौ १५ गते सञ्चालन हुने भएको छ ।
त्रिवि व्यवस्थापन सङ्काय डीनको कार्यालयले सूचना जारी गर्दै यसअघि साउन १५ गतेका लागि तोकिएको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) प्रथम सत्रको बजार व्यवस्थापन विषयको परीक्षा भदौ १५ गते सञ्चालन गर्ने जनाएको हो ।
मधेश प्रदेशका विभिन्न जिल्लामा सिर्जना भएको दङ्गाजन्य तथा अशान्त परिस्थितिका कारण साउन १५ गते निर्धारित परीक्षामध्ये केही परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन सकेको थिएन । डीनको कार्यालयका अनुसार स्थगित परीक्षा भदौ १५ गते बिहान ११ः३० बजेदेखि सञ्चालन हुनेछ ।
यसपटक परीक्षा यसअघि तोकिएका सबै ११ वटा परीक्षा केन्द्रमा नै सञ्चालन हुने जनाइएको छ । विद्यार्थीलाई निर्धारित समयमै सम्बन्धित परीक्षा केन्द्रमा उपस्थित हुन त्रिविले आग्रह गरेको छ ।
आईसीटी समाचार