काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गतको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न भएको छ ।
सातै प्रदेशका विभिन्न सहरमा आयोजित क्षेत्रीय कार्यशाला तथा भर्चुअल मास्टरक्लासमा सहभागी करिब २०० उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत २० जना उत्कृष्ट नवप्रवर्तक उद्यमी राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए ।
काठमाडौंमा आयोजित तीन दिने आवासीय कार्यक्रमले सहभागी उद्यमीलाई व्यवसाय विस्तार, लगानी जुटाउने, बजार पहिचान तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेशका लागि आवश्यक ज्ञान र व्यावहारिक सीप प्रदान गरेको आयोजकले जनाएको छ ।
लगानी र विश्व बजारमा केन्द्रित पिचिङ
कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ सञ्चालन गरिएको थियो । सहभागी उद्यमीहरूले आफ्ना व्यवसायको सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, निर्यात सम्भावना तथा लगानी आकर्षित गर्ने रणनीतिबारे प्रस्तुति दिएका थिए ।
व्यवसाय तथा उद्योग क्षेत्रका विज्ञ र अगुवासामु आफ्नो व्यवसायको योजना प्रस्तुत गरेका उद्यमीहरूले पिचिङपछि विज्ञहरूबाट व्यावहारिक सुझाव र मार्गदर्शनसमेत प्राप्त गरेका थिए । आयोजकका अनुसार यसले सहभागीलाई आफ्ना व्यवसायिक मोडल थप परिष्कृत गर्न सहयोग पुगेको छ ।
कार्यक्रममा ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ समेत आयोजना गरिएको थियो । अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीमा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका थिए ।
शोकेसका क्रममा उद्यमीले लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अमेरिकी व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए । यसबाट नयाँ व्यावसायिक सम्बन्ध तथा सहकार्यका सम्भावना खोज्न सहयोग पुगेको आयोजकको भनाइ छ ।
आर्थिक साझेदारी बलियो बनाउने अवसर : अमेरिकी दूतावास
कार्यक्रमको समापन समारोहमा अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चिफ माइक हार्करले क्यापस्टोन शोकेसलाई एउटा कार्यक्रमको समापनभन्दा पनि नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीको उदाहरणका रूपमा व्याख्या गरे ।
उनले नवीन सोच भएका नेपाली उद्यमीमा लगानी, नवप्रवर्तनको प्रवर्द्धन तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तारमार्फत आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई बलियो बनाउन कार्यक्रमले सहयोग पुर्याएको बताए । नेपालको आर्थिक विकासमा सहकार्य गर्न पाउनु गर्वको विषय भएको उनको भनाइ थियो ।
कृषि, प्रविधिदेखि हस्तकलासम्मका उद्यम
क्यापस्टोन एक्सेलेरेटरमा छनोट भएका २० उद्यमले नेपालको विभिन्न आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेका छन् । सहभागी उद्यममा कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, परामर्श, सहकारी तथा सामाजिक उद्यमलगायतका क्षेत्र समेटिएका छन् ।
उद्यमीलाई लगानी र बजारसँग जोड्ने लक्ष्य
आयोजकका अनुसार क्यापस्टोन एक्सेलेरेटरले सातै प्रदेशमा रहेका स्टार्टअप तथा उदीयमान उद्यमीलाई व्यावहारिक तालिम, मेन्टरिङ, बजार व्यवस्थापन, एआई प्रविधिको प्रयोग तथा लगानीका लागि तयारी गर्ने अवसर प्रदान गरेको छ ।
कार्यक्रमले उद्यमीलाई आफ्ना व्यवसायिक अवधारणालाई थप व्यावसायिक बनाउन, सम्भावित लगानीकर्तासँग सम्बन्ध स्थापित गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका लागि तयार हुन सहयोग पुर्याएको आयोजकको दाबी छ ।
नेपालमा स्टार्टअप र नवप्रवर्तनमा आधारित व्यवसायको विस्तार भइरहेका बेला सातै प्रदेशका फरक-फरक क्षेत्रका उद्यमीलाई एउटै मञ्चमा ल्याएर लगानी, प्रविधि र बजारसँग जोड्ने प्रयासले क्षेत्रीय उद्यमशीलताको विकास तथा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार