कीवर्डहरू -

बुद्धनगरका तारा र मोनाको पीडा संसदमा, रञ्जुले सुनाइन् ह्वाट्सएप ह्याकपछि भएको लाखौँको ठगी

बुद्धनगरका तारा र मोनाको पीडा संसदमा, रञ्जुले सुनाइन् ह्वाट्सएप ह्याकपछि भएको लाखौँको ठगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना (न्यौपाने) ले ह्वाट्सएपमार्फत हुने साइबर ठगीका घटना प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । डिजिटल साक्षरताको अभावका कारण नागरिकहरू यस्ता ठगीको सिकार भइरहेको उनले बताइन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले काठमाडौंका विभिन्न व्यक्तिहरू साइबर अपराधको सिकार बनेका उदाहरण प्रस्तुत गरिन् । उनका अनुसार बुद्धनगर निवासी तारा पोखरेलको ह्वाट्सएप अकाउन्ट ह्याक गरी ह्याकरहरूले आफन्त तथा चिनेजानेका व्यक्तिसँग आपत्कालीन अवस्था परेको भन्दै रकम मागेका थिए । विश्वासका आधारमा धेरैले छोटो समयमै लाखौँ रुपैयाँ पठाएको उनले उल्लेख गरिन् ।

यस्तै, बुद्धनगरकै मोना पोखरेल पनि समान प्रकृतिको ठगीमा परेको सांसद न्यौपानेले जानकारी दिइन् । अर्का पीडित सुधीरमान प्रधानले ‘आईपीएस एक्टिभ’ गर्ने सन्देशमा आएको लिंक क्लिक गरेपछि उनको बैंक खाताबाट पटक पटक गरी १० लाख रुपैयाँ चोरी भएको उनले बताइन् ।

सांसद न्यौपानेले ठगीबाट संकलित रकम अन्तत: कहाँ पुगिरहेको छ भन्ने प्रश्न उठाउँदै यस्ता अपराध नियन्त्रणका लागि साइबर क्राइम ब्युरोलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

उनले स्क्यामरहरूले नेपाली बैंक खातासँग सम्बन्धित क्यूआर कोड प्रयोग गरिरहेको दाबी गर्दै बैंकहरूले उजुरी वा सूचना प्राप्त हुनासाथ शंकास्पद खाताहरू तत्काल रोक्का गर्नुपर्ने सुझाव पनि दिइन् ।