कीवर्डहरू -

नेपालमा फोहोर व्यवस्थापन अब डिजिटल बन्दै, लुम्बिनी टेक र अपकोड नेपालबीच रणनीतिक साझेदारी

नेपालमा फोहोर व्यवस्थापन अब डिजिटल बन्दै, लुम्बिनी टेक र अपकोड नेपालबीच रणनीतिक साझेदारी

काठमाडौं । नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच आधुनिक डिजिटल फोहोर व्यवस्थापन प्रणाली विकास तथा कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो साझेदारीले नेपालका शहरी क्षेत्रमा देखिँदै आएको फोहोर व्यवस्थापनसम्बन्धी चुनौतीलाई प्रविधिको प्रयोगमार्फत समाधान गर्ने लक्ष्य राखेको छ । सम्झौताअनुसार परम्परागत र अव्यवस्थित फोहोर संकलन प्रणालीलाई डिजिटल प्रविधिमा आधारित एकीकृत व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्ने प्रयास गरिनेछ ।

डिजिटल प्रविधिमार्फत फोहोर व्यवस्थापनमा नयाँ पहल
प्रस्तावित डिजिटल फोहोर व्यवस्थापन प्रणालीले नगरपालिका, निजी फोहोर संकलन संस्था, रिसाइकल केन्द्र तथा कर्पोरेट संस्थाहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्नेछ । यस प्रणालीमार्फत फोहोर संकलनको समय, रुट व्यवस्थापन, पुन: प्रयोग योग्य सामाग्रीको ट्र्याकिङ तथा नागरिकका गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

सम्झौताबारे लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर रानाले डिजिटल फोहोर व्यवस्थापन प्रणाली नेपालमा डिजिटल रूपान्तरणको महत्वपूर्ण कदम भएको बताए । उनले भने- “नेपालमा फोहोर व्यवस्थापन प्रणालीको डिजिटलाइजेसन डिजिटल इकोसिस्टम निर्माणतर्फको ऐतिहासिक कोशेढुंगा हो । प्रविधिको प्रयोगले समुदायलाई अझ स्वच्छ, व्यवस्थित र स्मार्ट बनाउन सहयोग गर्नेछ ।”

स्थानीय तहसम्म प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य
यो डिजिटल प्रणालीलाई स्थानीय तहले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गरिएको जनाइएको छ । प्रणाली सरल र व्यवहारिक भएकाले साना नगर तथा स्थानीय संस्थाहरूले पनि यसलाई अपनाउन सक्ने बताइएको छ ।

अपकोड नेपालका संस्थापक तथा प्राविधिक निर्देशक मङ्गल प्रधानले यो सहकार्यले फोहोर व्यवस्थापनको आधुनिकीकरणलाई स्थानीय स्तरसम्म पुर्‍याउने बताए । उनका अनुसार प्रविधिको प्रयोगले स्थानीय फोहोर संकलकदेखि प्रत्येक घरधुरीसम्म जिम्मेवारी बढाउनुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

डिजिटल फोहोर व्यवस्थापन प्रणालीका मुख्य विशेषता
यो सफ्टवेयर वेब एप्लिकेसन र मोबाइल एप्लिकेसन दुवै माध्यमबाट सञ्चालन गर्न सकिने गरी तयार गरिएको छ । यसको प्रमुख विशेषताहरू:

लागत घटाउने: फोहोर संकलन गर्ने सवारी साधनको रुट र समय व्यवस्थापन गरी सञ्चालन खर्च कम गर्न सहयोग गर्नेछ ।

रिसाइकल प्रवर्द्धन: पुन: प्रयोग गर्न मिल्ने फोहोरलाई संकलनदेखि रिसाइकल केन्द्रसम्म ट्र्याक गरी डम्पिङ साइटमा जाने फोहोरको मात्रा घटाउनेछ ।

रियल टाइम निगरानी: सुपरभाइजर तथा सम्बन्धित अधिकारीहरूले दैनिक फोहोर संकलनको अवस्था, सेवा प्रभावकारिता र नागरिकका गुनासोहरू डिजिटल ड्यासबोर्डमार्फत हेर्न सक्नेछन् ।