काठमाडौं । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्दै दुई नयाँ मोडल क्लाउड फेबल ५.२ र क्लाउड माइथोस ५.२ सार्वजनिक गरेको छ । जटिल प्राविधिक काम, कोडिङ, वैज्ञानिक अनुसन्धान र साइबर सुरक्षालाई लक्षित गरी विकास गरिएका यी मोडल अघिल्लो संस्करणको तुलनामा बढी शक्तिशाली र छिटो रहेको कम्पनीको दाबी छ ।
प्रविधि क्षेत्रमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला र कम्पनी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको चर्चाबीच एन्थ्रोपिकले यी नयाँ मोडल ल्याएको हो । कम्पनीका अनुसार दुवै मोडलले अघिल्लो संस्करण ५.१ को तुलनामा कार्यक्षमता, गति र जटिल समस्या समाधान गर्ने क्षमतामा सुधार गरेका छन् ।
३० प्रतिशतसम्म छिटो, फास्ट मोडमा २.५ गुणा बढी गति
नयाँ मोडलको प्रमुख विशेषता कार्यसम्पादनको गति हो । एन्थ्रोपिकका अनुसार फेबल ५.२ र माइथोस ५.२ ले अघिल्लो संस्करणको तुलनामा ३० प्रतिशतसम्म छिटो जवाफ दिन सक्छन् । यसमा वैकल्पिक फास्ट मोड समेत उपलब्ध छ । यो मोड प्रयोग गर्दा टोकन उत्पादनको गति २.५ गुणासम्म बढाउन सकिने कम्पनीको दाबी छ । तर फास्ट मोड प्रयोग गर्दा नियमित शुल्कभन्दा दोब्बर खर्च लाग्नेछ ।
गतिको सुधारसँगै कम्पनीले यी मोडलको मूल्य समेत घटाएको जनाएको छ । अब प्रतिमिलियन इनपुट टोकनका लागि ८ अमेरिकी डलर र आउटपुट टोकनका लागि ४० अमेरिकी डलर शुल्क लाग्नेछ । यो अघिल्लो मूल्यभन्दा करिब २० प्रतिशत कम हो । यसबाट विशेष गरी ठूलो परिमाणमा एआई प्रयोग गर्ने कम्पनी, सफ्टवेयर विकासकर्ता र अनुसन्धानकर्तालाई आर्थिक रूपमा सहज हुने अपेक्षा गरिएको छ ।
फेबल ५.२ : कोडिङदेखि वैज्ञानिक अनुसन्धानसम्म
फेबल ५.२ विशेष गरी जटिल कोडिङ, गणितीय समस्या र वैज्ञानिक अनुसन्धानका लागि तयार पारिएको मोडल हो । यसले लामो समय लाग्ने परियोजना आफैँ व्यवस्थापन गर्न, कामका क्रममा भएका गल्ती पहिचान गर्न र आवश्यक सुधार गर्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।
परीक्षणका क्रममा यसले ब्ल्याक होल भौतिकशास्त्रका दुईवटा अनसुल्झिएका समस्याको समाधान गरेको बताइएको छ । त्यस्तै, एक हजार एआई एजेन्टको सहयोगमा फर्माको अन्तिम प्रमेय (फर्म्याट्स लास्ट थ्योरम) को प्रमाणलाई ३० घण्टामै औपचारिक गणितीय स्वरूपमा रूपान्तरण गरेको दाबी गरिएको छ ।
यसले खाली फोल्डरबाटै पूर्ण अपरेटिङ सिस्टम निर्माण गर्नुका साथै काम गर्न सक्ने तीनवटा इलेक्ट्रोनिक उपकरणको डिजाइन समेत तयार पारेको परीक्षणमा देखिएको कम्पनीले जनाएको छ ।
माइथोस ५.२ : साइबर सुरक्षामा विशेष क्षमता
माइथोस ५.२ भने विशेष गरी साइबर सुरक्षा र जीवन विज्ञानसम्बन्धी अनुसन्धानका लागि केन्द्रित छ । यसले सफ्टवेयरभित्र रहेका सुरक्षा कमजोरी तथा सम्भावित जोखिम पहिचान गर्ने क्षमता बढाएको छ ।
अघिल्लो संस्करणको तुलनामा यसले निकै बढी सफ्टवेयर सुरक्षा कमजोरी पत्ता लगाउन सफल भएको कम्पनीको दाबी छ । तर साइबर सुरक्षासँग जोडिएका सम्भावित जोखिमलाई ध्यानमा राख्दै माइथोस ५.२ को प्रयोगमा केही प्रतिबन्ध लगाइएको छ ।
यो मोडल सबै प्रयोगकर्ताका लागि खुला नगरिएको र प्रमाणित प्रयोगकर्ता तथा विशेष कार्यक्रममार्फत मात्रै उपलब्ध गराइएको छ । फेबल ५.२ मा पनि जीवविज्ञान र साइबर सुरक्षासँग सम्बन्धित संवेदनशील काममा दुरुपयोग रोक्न थप सुरक्षा व्यवस्था राखिएको छ ।
तस्बिर बुझ्ने र लामो परियोजना सम्हाल्ने क्षमतामा सुधार
दुवै नयाँ मोडलमा प्रयोगकर्तासँग स्पष्ट र व्यवस्थित रूपमा संवाद गर्ने क्षमता सुधार गरिएको एन्थ्रोपिकले जनाएको छ । त्यसैगरी, तस्बिर तथा दृश्य सामाग्री बुझ्ने क्षमता (भिजन) मा पनि सुधार गरिएको छ ।
लामो कन्टेक्स्ट विन्डोका कारण यी मोडलले धेरै जानकारी समेटिएका ठूला परियोजना तथा जटिल कार्यलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्नेछन् ।
यद्यपि, कम्पनीका अनुसार सामान्य दैनिक कामका लागि एन्थ्रोपिकका अन्य मोडल नै बढी उपयुक्त हुन सक्छन् । फेबल ५.२ र माइथोस ५.२ भने विशेषगरी कठिन प्राविधिक चुनौती, उन्नत कोडिङ र वैज्ञानिक अनुसन्धानका लागि विकास गरिएका हुन् ।
यी नयाँ मोडलले एआईको गति, मूल्य, प्रोग्रामिङ क्षमता र वैज्ञानिक अनुसन्धानमा उल्लेख्य सुधार गर्ने एन्थ्रोपिकको अपेक्षा छ । जटिल काममा एआईको प्रयोग बढ्दै गएको अवस्थामा यी मोडलले कम्पनीलाई प्रतिस्पर्धी बजारमा आफ्नो स्थान बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार