कीवर्डहरू -

नगदबाट डिजिटलतर्फ नेपाल : पाँच वर्षमा क्यूआर कारोबारमा हजारौं गुणाको छलाङ

नगदबाट डिजिटलतर्फ नेपाल : पाँच वर्षमा क्यूआर कारोबारमा हजारौं गुणाको छलाङ

काठमाडौं । नेपालमा वित्तीय प्रविधि (फिनटेक) को विस्तारले कारोबार गर्ने शैलीमा ठूलो परिवर्तन ल्याएको छ । केही वर्षअघिसम्म नगदमा निर्भर रहेको भुक्तानी प्रणाली अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडमा केन्द्रित हुँदै गएको छ । यससँगै सर्वसाधारणदेखि साना व्यवसायीसम्मको आर्थिक गतिविधि थप सहज बनेको छ ।

डिजिटल वालेट र मोबाइल बैंकिङ एपहरूले प्रयोगकर्ताको कारोबार इतिहासलाई आधार बनाएर वित्तीय सेवा विस्तार गर्न थालेका छन् । यही प्रविधिको प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाले बिनाधितो डिजिटल कर्जा उपलब्ध गराउने अभ्याससमेत सुरु गरेका छन् । हाल नेपालमा २२ वटा मोबाइल वालेट सञ्चालनमा छन् ।

डिजिटल भुक्तानीको प्रभाव व्यापार क्षेत्रमा अझ स्पष्ट देखिएको छ । पहिले सामान बिक्री गरेपछि रकम प्राप्त गर्न समय लाग्ने भएपनि अहिले क्यूआर वा डिजिटल माध्यमबाट तत्कालै भुक्तानी प्राप्त हुने भएकाले व्यवसायीलाई नगद प्रवाह व्यवस्थापन गर्न सहज भएको छ । साना पसलदेखि ठूला व्यवसायसम्म क्यूआर भुक्तानीको प्रयोग बढ्दै गएको छ ।

व्यक्तिगत जीवनमा पनि डिजिटल वित्तीय सेवाले खर्च व्यवस्थापनलाई सहज बनाएको छ । सार्वजनिक यातायात, किराना पसल, तरकारी बजारदेखि साना ठेलागाडासम्म क्यूआर भुक्तानी स्वीकार गर्न थालेपछि सर्वसाधारणको नगद बोक्ने आवश्यकता घट्दै गएको छ ।

डिजिटल कर्जाको दायरा पनि विस्तार भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी विभागले डिजिटल लेन्डिङसम्बन्धी मार्गदर्शन संशोधन गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई समेत डिजिटल कर्जाको पहुँच दिएको छ । नयाँ व्यवस्थाअनुसार व्यवसायीहरूले एक वर्षसम्मको अवधिका लागि अधिकतम ५ लाख रुपैयाँसम्म अल्पकालीन र १० लाख रुपैयाँसम्म दीर्घकालीन डिजिटल कर्जा लिन सक्नेछन् ।

यसअघि बैंक तथा वित्तीय संस्थामा तलब, पेसागत वा व्यावसायिक आम्दानी आउने खाता भएका व्यक्तिलाई मात्रै विद्युतीय कर्जाको सुविधा उपलब्ध थियो । यस्तो कर्जाको सीमा व्यक्तिगत प्रयोजनमा ५ लाख र २ लाख रुपैयाँसम्म रहेको थियो ।

नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको अवधारणा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) तर्फ पनि तयारी अघि बढाएको छ । अध्ययन, कानुनी प्रक्रिया र पूर्वाधार विकाससँगै राष्ट्र बैंकले २०८२ साउनमा सीबीडीसीको नमुना प्रणाली (प्रोटोटाइप) तयार पारेको थियो । अब त्यसलाई परिमार्जन गर्दै सीमित सुविधासहित प्रारम्भिक संस्करण विकास गर्ने तयारी छ ।

राष्ट्र बैंकको तथ्यांकले नेपालमा डिजिटल कारोबारको तीव्र विस्तार देखाएको छ । चालु आर्थिक वर्षको वैशाख/जेठसम्म एक महिनामै क्यूआर कोडमार्फत ५ करोड ९२ लाख ६३ हजारभन्दा बढी कारोबार भएका छन् । उक्त कारोबारको कुल मूल्य १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

सोही अवधिमा मोबाइल बैंकिङमार्फत ६ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ई-सेवा, खल्तीजस्ता डिजिटल वालेटमार्फत ५३ अर्ब १ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

पाँच वर्षअघिको अवस्थासँग तुलना गर्दा डिजिटल कारोबारको विस्तार निकै तीव्र देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को वैशाख/जेठमा क्यूआरमार्फत करिब साढे २ अर्ब रुपैयाँ, मोबाइल बैंकिङबाट ४८ अर्ब रुपैयाँ र डिजिटल वालेटबाट १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । अहिले क्यूआर कारोबार मात्रै १ खर्ब ६२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

सरकारले २०७६ सालमा सार्वजनिक गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’का विभिन्न क्षेत्रमध्ये वित्तीय क्षेत्र डिजिटल रूपान्तरणमा सबैभन्दा अगाडि देखिएको विभिन्न अध्ययनहरूले औंल्याएका छन् ।

राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली सुधार, कानुनी व्यवस्था र प्रविधि विकासमा नियामक, सरकार र निजी क्षेत्रबीचको सहकार्यका कारण नेपालमा डिजिटल वित्तीय सेवाले तीव्र गति लिन सफल भएको हो ।