कीवर्डहरू -

हेल्थकेयर टेक्नोलोजी : स्वास्थ्यको निगरानीदेखि जीवनशैली सुधारसम्मको डिजिटल सहारा

हेल्थकेयर टेक्नोलोजी : स्वास्थ्यको निगरानीदेखि जीवनशैली सुधारसम्मको डिजिटल सहारा

काठमाडौं । सामान्यतया जब कुनै स्वास्थ्यसम्बन्धी समस्या महसुस हुन्छ, तब मात्र मानिसहरू डाक्टरकोमा जान्छन् । धेरैपटक बेवास्ता र सहँदै जाने बानीका कारण समस्या अझै ठूलो बन्न सक्छ । यस्ता कठिनाइबाट बच्नका लागि एउटा राम्रो उपाय हो, हेल्थकेयर टेक्नोलोजी ।

बदलिँदो समयसँगै प्रविधिले अचानक आउने समस्याबाट जोगाउन सहयोग गरिरहेको छ । हार्ट अट्याकलाई घण्टाअघि नै अनुमान गर्न सक्ने स्मार्टवाचका विशेषताका कारण धेरै ज्यान बचाउन सकिएको छ । प्रविधिले मात्र विश्वभर करोडौँ मानिसलाई स्वास्थ्यप्रति सतर्क बनाइरहेको छैन, सही दिनचर्या, फिटनेस र उचित आहारतर्फ पनि प्रेरित गरिरहेको छ । बायोसेन्सर भएका ग्याजेटहरूले आज मानिसलाई अझ राम्रो जीवन जिउने बाटो देखाइरहेका छन् ।

ब्रेकफास्टअघि हृदयगति जाँच्न होस् वा राति कति राम्रो निद्रा पर्यो वा दिनभर कति कदम हिँडियो र कति क्यालोरी सकियो भन्ने जानकारी, यी सबै कुरा अब सजिलै पत्ता लगाउन सकिन्छ । त्यति मात्र होइन, डाक्टरसँग परामर्श गर्न घरबाहिर निस्कनु पनि परेन । भर्चुअल कन्सल्टेसनको सुविधाले यो निकै सजिलो बनाइदिएको छ ।

जीवनको गुणस्तर सुधार्न सहयोगी

मोनिटरिङ डिभाइस र निरन्तर नवप्रवर्तनका कारण स्वास्थ्यमा सधैं नजर राख्न, सम्भावित समस्या पहिल्यै अनुमान गर्न र सन्तुलित दिनचर्या कायम राख्न अभूतपूर्व मद्दत मिलिरहेको छ । व्यक्तिगत स्वास्थ्य डेटा सही पोषण र जीवनशैलीका लागि प्रेरक बन्ने गर्छ, विशेष गरी पहिलेबाटै डायबिटिज वा उच्च रक्तचापजस्ता क्रोनिक समस्याबाट पीडितहरूका लागि यो कुनै वरदानभन्दा कम छैन ।

स्मार्टवाच, फिटनेस ब्यान्ड, टेलिमेडिसिन प्लेटफर्म र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पावर्ड हेल्थ एपसम्मका डिजिटल टुलहरूले आफैं स्वास्थ्य व्यवस्थापन गर्ने सुविधा दिइरहेका छन् । तर विज्ञहरू चेतावनी पनि दिन्छन्, प्रविधि सहयोगी माध्यम मात्र हो, स्वास्थ्यकर्मीको विकल्प होइन । त्यसैले यसको प्रयोगमा सावधानी आवश्यक छ ।

शक्तिशाली बन्दै गएका हेल्थ असिस्टेन्ट

कन्ज्युमर टेकले स्वास्थ्यबारे जागरूकता बढाएको छ । यस्ता डिभाइस अब केवल जीवनशैलीका सहायक सामाग्री मात्र हैनन्, बरु पर्सनल हेल्थ असिस्टेन्टका रूपमा काम गरिरहेका छन् । आधुनिक स्मार्टवाचले हृदयगति, क्यालोरी खपत, रगतमा अक्सिजनको निगरानी, तनावको मापन, हृदय लयमा आउने परिवर्तन र निद्राको गुणस्तरमा नजर राख्न मद्दत गर्छ । त्यसैगरी फिटनेस ब्यान्डले दैनिक गतिविधिको रिपोर्ट दिन्छ, ताकि फिटनेसका लागि आवश्यक सुधार गर्न सकियोस् ।

यदि तपाईं डेस्कमा बसेर घण्टौँ काम गर्नुहुन्छ भने शरीरमा सुस्त हुनु र स्वास्थ्यसम्बन्धी अन्य समस्या आउन सक्छन् । स्मार्टवाचले बीच बीचमा केहीबेर हिँड्नका लागि नोटिफिकेसन पठाउँछ । यस्ता साना उपायले पनि कार्डियोभास्कुलर स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ । त्यसैगरी दौडने वा साइकल चलाउने क्रममा वियरेबल्स मार्फत प्रदर्शन, रिकभरी, हाइड्रेसनको आवश्यकता र इंटेन्सिटीमा नजर राख्न सकिन्छ । यसले तपाईंको फिटनेस रुटिन राम्रो बनाउँछ र ओभर ट्रेइनिङको जोखिम पनि घटाउँछ ।

भर्चुअल कन्सल्टेसनले बढाएको सहजता

स्वास्थ्य सेवा अब अस्पतालमा मात्र सीमित छैन । प्रविधिले अब टेलिमेडिसिन र भर्चुअल कन्सल्टेसन मार्फत दुर्गम क्षेत्रका मानिसका लागि पनि सहजता सिर्जना गरिरहेको छ । घण्टौँ यात्रा गरेर अस्पताल पुग्नुपर्ने र लाइनमा उभिनुपर्ने झन्झटको सट्टा अब फिजिसियनसँग भिडियो कलमार्फत परामर्श लिन सकिन्छ ।

क्रोनिक हेल्थ म्यानेजमेन्ट

  • डायबिटिज भएका मानिसहरूले ग्लुकोज मोनिटरिङ सिस्टम मार्फत दिनभर आफ्नो ब्लड सुगरमा नजर राख्न सक्छन् ।
  • स्मार्ट ब्लड प्रेशर मोनिटरलाई स्मार्टफोन एपसँग जोडेर हाइपरटेन्सनलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ ।
  • फल डिटेक्सन डिभाइसले वृद्धवृद्धालाई लड्ने जोखिमबाट जोगाउँछ । आपतकालीन अवस्थामा परिवारजनलाई तुरुन्तै नोटिफिकेसन जान्छ ।

एआईले बढाएको पर्सनलाइजेसन

आजकल धेरै हेल्थ एपहरूले व्यवहारको ढाँचा बुझ्न र पर्सनलाइज्ड सुझाव दिन एआईको प्रयोग गर्छन् । फिटनेस एपले हालैको गतिविधिका आधारमा एक्सरसाइजमा परिवर्तन गर्न सक्छ । हेल्थकेयर कम्पनीहरूले एआई-असिस्टेड सिस्टममार्फत मेडिकल इमेजहरूको विश्लेषण गर्ने, रोगको अनुमान लगाउने र क्लिनिकल निर्णयमा सहायता लिने काम गरिरहेका छन् । एआई पावर्ड टुलहरूले सटीकतामा सुधार ल्याउँछन् ।

प्रविधि प्रयोग गर्ने राम्रो तरिका

विज्ञहरूका अनुसार सबै हेल्थ मेट्रिक्स ट्र्याक गर्नुको साटो केही खास कुरामा ध्यान दिनु राम्रो हुन्छ ।

वियरेबल्सको डेटा प्याटर्न हेर्नुहोस्: हृदयगति, स्लिप स्कोर वा क्यालोरीमा हुने दैनिक उतारचढावमा चिन्ता गर्नुको सट्टा डेटाको लामो समयको प्याटर्न हेर्नुपर्छ । जस्तै, हप्तौँसम्म औसत निद्रामा गिरावट आइरहेको छ भने डाक्टरसँग भेट गर्नुपर्छ ।

स्वास्थ्यका राम्रा बानी विकास गर्नुहोस्: प्रविधिको लाभ तब मात्र हुन्छ जब तपाईं यसबाट स्वस्थ बानी विकास गर्नुहुन्छ । जस्तै; मेडिकेसन रिमाइन्डर, हाइड्रेसन अलर्ट, अपोइन्टमेन्ट नोटिफिकेसन, दैनिक स्टेप गोल, गाइडेड वर्कआउट शेड्युल आदि ।

सही डेटा हेर्नुहोस्: यदि वजन घटाउने लक्ष्य छ भने एक्टिभिटी लेवल, क्यालोरी इनटेक र वजनमा हुने उतारचढावमा ध्यान दिनुपर्छ । फिटनेसका लागि व्यायामको अवधि, हृदयगति जोन र रिकभरी डेटा हेर्नुपर्छ । निद्रा सुधार गर्न सुत्ने नियमित समय र निद्राका घण्टामा ध्यान दिनुपर्छ । क्रोनिक रोगमा ब्लड प्रेशर, ग्लुकोज लेवल वा औषधिको प्रयोगमा नजर राख्नुपर्छ ।

प्रिभेन्टिभ केयरका रूपमा प्रयोग गर्नुहोस्: डिजिटल क्यालेन्डर र हेल्थ एपमार्फत वर्षमा एक वा दुईपटक स्वास्थ्य जाँच, भ्याक्सिन, दाँतको चेकअप, आँखाको जाँच आदि पनि शेड्युल गर्न सकिन्छ ।

मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस्: प्रविधि केवल शारीरिक स्वास्थ्यमा मात्र सीमित छैन । मेडिटेसन एप, ब्रीदिङ एक्सरसाइज, डिजिटल जर्नल, अनलाइन थेरेपी सर्भिस र स्ट्रेस म्यानेजमेन्ट टुलहरू तनाव व्यवस्थापन र भावनात्मक स्वास्थ्यका लागि उपयोगी छन् ।

प्रविधिसँग सतर्कता पनि जरूरी

यी सबै सुविधासँगै हेल्थ टेकका केही सीमाहरू पनि छन्, जसप्रति सतर्क रहनुपर्छ ।

डेटा नै सबैथोक होइन: कन्ज्युमर डिभाइसले केवल अनुमानित जानकारी दिन्छन्, तिनलाई रोग उपचारका लागि प्रयोग गर्न सकिँदैन । उदाहरणका लागि स्मार्टवाचले हृदयको अनियमित धड्कनबारे बताउन सक्छ, तर त्यसको गम्भीरता हेल्थ प्रोफेसनलले मात्र मूल्यांकन गर्न सक्छन् ।

अनावश्यक जानकारी: अत्यधिक हेल्थ डेटाले अनावश्यक तनाव दिन सक्छ । जस्तै, बारम्बार स्लिप स्कोर हेर्दा निद्राबारे अनावश्यक चिन्ता बढ्न सक्छ । त्यसले निद्राको गुणस्तर सुधार गर्दैन ।

गलत जानकारीको जोखिम: इन्टरनेट मिडियामा ट्रेन्डिङ डाइट, चमत्कारी सप्लिमेन्ट र वेलनेस सोलुसनका नाममा सल्लाह दिनेहरू धेरै छन्, तर ती वैज्ञानिक हुन् भन्ने ग्यारेन्टी हुँदैन । सधैं सम्बन्धित विज्ञहरुको सल्लाह मान्नुपर्छ ।

निजताको चिन्ता: हेल्थ एप र ग्याजेटमा धेरै संवेदनशील जानकारी साझा हुन्छ, विशेष गरी मेडिकल रेकर्ड, लोकेसन आदि । डेटा चुहावटले ठूलो समस्या निम्त्याउन सक्छ । सधैं डिभाइसको प्राइभेसी सेटिङ र एपको परमिशन प्रति सचेत रहनुपर्छ ।

स्क्रिनको लत: स्क्रिनसँगको अत्यधिक निर्भरता अहिले विश्वभर बहसको केन्द्रमा छ । स्क्रिनमा बढी समय बिताउँदा आँखामा जलन, शरीर दुख्ने, शारीरिक निष्क्रियता, निद्रामा बाधा जस्ता समस्या आउँछन् । त्यसैले यसको सीमित र समझदारीपूर्ण प्रयोग गर्नुपर्छ ।

यी कुरा सधैं ध्यानमा राख्नुहोस्

  • हेल्थ डेटा साझा गर्नुअघि प्राइभेसी पोलिसी बारे जान्नुपर्छ ।
  • हेल्थ एप र डिभाइस सधैं प्रतिष्ठित कम्पनीकै हुनुपर्छ ।
  • बलियो पासवर्ड र टू-फ्याक्टर अथेण्टिकेसन सक्षम गर्नुपर्छ ।
  • अनलाइन जानकारीलाई हेल्थकेयर प्रोफेसनलसँग वेरिफाइ गर्नुपर्छ ।
  • आफैं उपचार गर्ने भूल गर्नुहुँदैन ।
  • मेडिकल क्षेत्रमा प्रविधि उपयोगी छ, तर विकल्प होइन ।
  • डिजिटल डेटाभन्दा व्यायाम, निद्रा र पोषणमा ध्यान केन्द्रित गर्नुपर्छ ।