काठमाडौं । साइबर ठगी र अनलाइन आक्रमणबाट प्रयोगकर्तालाई सुरक्षित राख्न व्हाट्सएपले पछिल्ला महिनाहरूमा गोपनीयता (प्राइभेसी) र सुरक्षासम्बन्धी (सिक्योरिटी) विभिन्न फिचरहरू थपिरहेको छ । अब विभिन्न रिपोर्टहरूका अनुसार मेटाले जोखिमपूर्ण कुराकानी पहिचान गर्न सहयोग गर्ने नयाँ सुरक्षा फिचर सार्वजनिक गर्न थालेको छ ।
एक फिचर ट्र्याकरले यस्तो नयाँ चेतावनी सन्देश (वार्निङ मेसेज) फेला पारेको छ, जुन प्रयोगकर्ताले अपरिचित फोन नम्बरबाट आएको सन्देश भएको नयाँ च्याट खोल्दा देखिनेछ । यो फिचर एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । यसले अपरिचित व्यक्तिसँग कुराकानी सुरु गर्नुअघि प्रयोगकर्तालाई थप सूचित र विवेकपूर्ण निर्णय लिन सहयोग पुर्याउनेछ ।
अपरिचित च्याटका लागि व्हाट्सएपको नयाँ चेतावनी सन्देश
फिचर ट्र्याकर डब्लुएबिटाइन्फो (WABetaInfo) ले हालै गरेको एक पोस्टमा आईओएस र एन्ड्रोइडका लागि व्हाट्सएपमा आउन लागेको नयाँ चेतावनी सन्देशबारे जानकारी सार्वजनिक गरेको छ ।
यो फिचर प्रयोगकर्ताले कुनै अपरिचित व्यक्तिसँगको कुराकानी खोल्दा सतर्क गराउन डिजाइन गरिएको हो । प्राप्त जानकारीअनुसार, जब कुनै व्हाट्सएप प्रयोगकर्ताले आफूले सेभ नगरेको नम्बरबाट सन्देश प्राप्त गर्छ, तब एपले च्याट खुल्नुअघि स्क्रिनमा चेतावनी सन्देश देखाउनेछ ।
रिपोर्टमा समावेश गरिएको स्क्रिनसटअनुसार चेतावनी सन्देशमा उक्त फोन नम्बर दर्ता भएको देशको नाम पनि देखाइन्छ । साथै, नम्बर सम्पर्क सूची (कन्ट्याक्ट) मा सुरक्षित गरिएको छ वा छैन, प्रयोगकर्ता र सन्देश पठाउने व्यक्तिबीच कुनै साझा समूह (कमन ग्रुप) छ वा छैन भन्ने जानकारी पनि प्रदान गरिन्छ ।
स्क्यामरबाट सावधान रहन चेतावनी
यो अलर्टमा प्रयोगकर्तालाई सचेत गराउने सन्देश पनि समावेश गरिएको हुन्छ । त्यसमा भनिएको छ:
“स्क्यामरहरूले तपाईंलाई व्यक्तिगत जानकारी वा पासवर्ड दिन प्रलोभनमा पार्न सक्छन् वा पैसा पठाउन आग्रह गर्न सक्छन् ।” यी विवरणहरू हेरेपछि प्रयोगकर्ताले च्याट जारी राख्ने वा च्याट बन्द (क्यान्सल) गर्ने निर्णय गर्न सक्छन्। प्रयोगकर्ताले कुन विकल्प रोज्यो भन्ने जानकारी सन्देश पठाउने व्यक्तिलाई दिइने छैन ।
व्हाट्सएपको यो नयाँ फिचरले अपरिचित स्रोतबाट आउने स्प्याम, स्क्याम तथा नक्कली (फेक) सन्देशहरू नियन्त्रण गर्न प्लेटफर्मलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
अन्य नयाँ फिचरमा पनि काम गर्दै मेटा
यसबीच, मेटाले व्हाट्सएपका लागि अन्य धेरै नयाँ फिचरहरूमा पनि काम गरिरहेको देखिएको छ । कम्पनीले छिट्टै डेडिकेटेड भ्वाइस नोट विजेट उपलब्ध गराउन सक्छ, जसलाई प्रयोगकर्ताले आफ्नो होम स्क्रिनमा राख्न सक्नेछन् ।
त्यसैगरी, आईफोन प्रयोगकर्ताका लागि ‘भ्यु-वन्स’ टेक्स्ट मेसेज फिचरको पनि परीक्षण (टेस्टिङ) भइरहेको जानकारी सार्वजनिक भएको छ । यो फिचरमार्फत सन्देश एकपटक मात्र हेर्न सकिने व्यवस्था हुने अपेक्षा गरिएको छ ।
नयाँ सुरक्षा फिचरहरूसँगै व्हाट्सएपले प्रयोगकर्ताको गोपनीयता, सुरक्षा र साइबर जोखिम न्यूनीकरणलाई थप प्राथमिकता दिन थालेको स्पष्ट देखिन्छ ।
आईसीटी समाचार