काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामाग्री घरमै हुलाकमार्फत प्राप्त गर्ने भएका छन् । यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ ।
नेपाल टेलिकमले बिहिबार जारी गरेको विज्ञप्तिअनुसार टेलिकम र हुलाक सेवा विभागबीच भएको सम्झौतापछि आगामी साउन १ गतेदेखि टेलिकमका सिमकार्ड तथा अन्य आवश्यक सामाग्री हुलाक सेवा विभागमार्फत देशभरका सेवाग्राहीको घरसम्म पुर्याइने छ ।
सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रवन्ध निर्देशक रीना डंगोल तथा हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि आयोजित कार्यक्रममा निमित्त प्रवन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई पनि सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्यअनुसार यो व्यवस्था गरिएको बताइन् ।
उनले हुलाक सेवा विभागसँगको सहकार्यबाट सेवाग्राहीले थप सहज, छिटो र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी, हुलाक सेवा विभागकी महानिर्देशक भट्टराई पंगेनीले सरकारको घर दैलोमै सेवा पुर्याउने नीतिलाई व्यवहारमा उतार्न विभागले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको यो सहकार्य त्यसैको महत्वपूर्ण हिस्सा भएको बताइन् ।
आगामी दिनमा दुवै संस्थाबीचको सहकार्य अझ सुदृढ हुँदै सेवाग्राहीलाई अझ प्रभावकारी सेवा उपलब्ध हुने विश्वाससमेत उनले व्यक्त गरिन् ।
नेपाल टेलिकमका अनुसार सरकारी स्वामित्वका दुई संस्थाबीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै टेलिकमका सेवा तथा सामाग्रीको वितरणलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार