कीवर्डहरू -

युटीएलको लाइसेन्स खारेज, सम्पूर्ण पूर्वाधार सरकारलाई बुझाउन प्राधिकरणको निर्देशन

युटीएलको लाइसेन्स खारेज, सम्पूर्ण पूर्वाधार सरकारलाई बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नवीकरण हुन नसकेपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को अनुमतिपत्र स्वत: खारेज भएको छ । तोकिएको समयभित्र नियमानुसार नवीकरण दस्तुरसहित निवेदन पेस नगरेपछि यसको अनुमतिपत्र खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले सूचना जारी गरेर युटीएलको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएकोले यसको सम्पूर्ण पूर्वाधार र सञ्जाल सरकारको स्वामित्वमा हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले सार्वजनिक सूचना जारी गर्दै २०७३ भदौ २० गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. बीटीएसएल ०२) प्राप्त युटीएलको लाइसेन्स दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ (४) बमोजिम स्वत: रद्द भएको उल्लेख छ ।

‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ को नियम ३४ (क) बमोजिम त्यस्ता सेवा प्रदायकको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति स्वत: सरकारको स्वामित्वमा जाने कानुनी व्यवस्थाअनुसार आफ्ना सम्पूर्ण दूरसञ्चार पूर्वाधार संरचना, प्रणाली र सञ्जाल प्राधिकरणलाई हस्तान्तरण गर्न युटीएललाई सूचित गरेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

दूरसञ्चार ऐनअनुसार अनुमतिपत्रको कुल अवधि २५ वर्षको हुने भएपनि पहिलो १० वर्ष पुगेपछि अनिवार्य नवीकरण गर्नुपर्ने प्रावधान छ । सेवा लामो समयदेखि अवरुद्ध रहेपनि लाइसेन्स ब्युँताएर दूरसञ्चार बजारमा फेरि फर्किने योजनासहित कम्पनीका नेपाली लगानीकर्ता राजबहादुर सिंहलगायतले पछिल्लो तीन महिनादेखि दौडधूप तीव्र पारेका थिए ।

कम्पनीले म्याद सकिनुअगावै प्राधिकरणमा निवेदन दिएपनि कानुनी रूपमा बुझाउनु पर्ने नवीकरण दस्तुर दाखिला गर्न नसकेपछि उक्त प्रयास व्यर्थ भएको हो ।