काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा सञ्चालन भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ ।
प्राधिकरणका अनुसार लाइसेन्स र स्वीकृत फ्रिक्वेन्सीबिनै प्रदान गरिने दूरसञ्चार तथा इन्टरनेट सेवा कानुन विपरीत भएकाले त्यस्ता सेवा सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको हो ।
प्राधिकरणले देशका विभिन्न दुर्गम तथा हिमाली क्षेत्रमा अनधिकृत रूपमा विदेशी स्याटेलाइट इन्टरनेट सेवा प्रयोग भइरहेको सूचना प्राप्त भएपछि सार्वजनिक सूचना जारी गर्दै कानुनी व्यवस्था पालना गर्न सचेत गराएको हो । यसअघि पनि यस्तै चेतावनी जारी गरिए पनि अवैध सेवा पूर्ण रूपमा रोकिएको छैन ।
प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले हाल विभिन्न स्थानमा अनुमतिबिनै दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन भइरहेको जानकारी प्राप्त भएको बताए । यद्यपि, सेवा सञ्चालन भइरहेको सटीक स्थान र प्रयोगको स्वरूपबारे विस्तृत तथ्य संकलन भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार कुनै स्थानमा अवैध सेवा सञ्चालन भइरहेको यकिन प्रमाण प्राप्त भएमा नियामक निकायले आवश्यक कानुनी कारबाहीसहित सेवा नियन्त्रण गर्नेछ । अहिले भने विभिन्न माध्यमबाट अनधिकृत सेवा सञ्चालन भइरहेको सूचना आएको आधारमा सबैलाई कानुनी प्रक्रिया अपनाउन आग्रह गरिएको हो ।
प्राधिकरणका अधिकारीका अनुसार हिमाली क्षेत्रका केही आधार शिविरमा पर्वतारोहण तथा ट्रेकिङसँग सम्बन्धित कम्पनीहरूले विदेशी स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरिरहेको भेटिएको छ ।
ती सेवामध्ये स्टारलिंकको सेवा पनि प्रयोग भइरहेको दाबी गरिएको छ । विशेष गरी विदेशी पर्यटक तथा आरोहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउन यस्तो सेवा प्रयोग हुने गरेको बताइन्छ ।
नेपालमा स्याटेलाइटमार्फत दूरसञ्चार सेवा सञ्चालनका लागि आवश्यक जीएसपीसीएस लाइसेन्स हाल दुई कम्पनीले मात्रै प्राप्त गरेका छन् । तीबाहेक अन्य कुनै कम्पनीले सम्बन्धित अनुमति नलिई सेवा सञ्चालन गर्न नपाउने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।
यसअघि स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी निकायसँग विभिन्न चरणमा छलफल गरेको थियो । कम्पनीका प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री तथा सञ्चार मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै आफ्नो सेवाको प्रदर्शन (डेमो) समेत गरेका थिए ।
यद्यपि, हालसम्म कम्पनीले नेपालमा व्यवसायिक सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त गर्न सकेको छैन । प्राधिकरणले कानुनी स्वीकृति बिना सञ्चालन हुने कुनै पनि दूरसञ्चार वा इन्टरनेट सेवा अवैध हुने स्पष्ट गर्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
आईसीटी समाचार