काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । विभागका अनुसार २०८३ असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा प्रदान गर्न थालिएको हो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको विभागले करिब एक करोड नेपाली नागरिकसँग सम्बन्धित राहदानी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको जनाएको छ । विभागका अनुसार यसले सेवा प्रवाहलाई थप आधुनिक, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि, नयाँ प्रणालीको प्रारम्भिक कार्यान्वयनका क्रममा केही प्राविधिक समस्या, प्रणालीको गति सुस्त हुने तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने विभागले स्वीकार गरेको छ । यस्ता चुनौती नयाँ प्रणाली सुरु गर्दा देखिनु सामान्य प्रक्रिया भएको विभागको भनाइ छ ।

विभागले सम्भावित समस्याको तत्काल समाधानका लागि आफ्ना प्राविधिक कर्मचारी तथा प्रणाली विकासकर्ता कम्पनीका विशेषज्ञहरूलाई चौबीसै घण्टा परिचालन गरिएको जनाएको छ ।
प्रणालीको निरन्तर अनुगमन, परीक्षण र आवश्यक सुधारको काम जारी रहेको विभागले स्पष्ट पारेको छ । देखिएका प्राविधिक चुनौतीको तत्काल तथा दीर्घकालीन समाधानका लागि आफूहरू पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको विभागको दाबी छ ।

यसैबीच, नयाँ प्रणाली पूर्ण रूपमा स्थिर नहुँदासम्म अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्रै राहदानीका लागि आवेदन दिन विभागले आग्रह गरेको छ । यसले प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास विभागको छ ।
यस्तै राहदानी सेवासम्बन्धी सूचना लिन विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट सार्वजनिक गरिएका सूचना तथा समाचारलाई मात्र विश्वास गर्न विभागले सेवाग्राहीसँग अनुरोध गरेको छ ।
नेपाली नागरिकलाई गुणस्तरीय, छिटो र भरपर्दो राहदानी सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता यथावत् रहेको विभागले जनाएको छ ।
आईसीटी समाचार