कीवर्डहरू -

गुगल एआई मोड अब क्यान्भा, युट्युब म्युजिक र इन्स्टाकार्टसँग जोडियो

गुगल एआई मोड अब क्यान्भा, युट्युब म्युजिक र इन्स्टाकार्टसँग जोडियो

काठमाडौं । गुगलले आफ्नो एआई सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले एआई मोड (AI Mode) लाई क्यान्भा, युट्युब म्युजिक र इन्स्टाकार्टसँग जोड्न थालेको छ । कम्पनीले अमेरिकामा यस सातादेखि यी सेवाहरूलाई एआई मोडसँग एकीकृत गर्न सुरु गरेको हो ।

नयाँ सुविधासँगै प्रयोगकर्ताले छुट्टै जेमिनी (Gemini) एप खोल्नुपर्ने आवश्यकता बिना नै गुगल सर्चको एआई मोडमार्फत विभिन्न एआई फिचर प्रयोग गर्न सक्नेछन् । युट्युब म्युजिकमा एआई मोड प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो रुचिअनुसार प्लेलिस्ट तयार गर्न सक्नेछन् ।

त्यस्तै, क्यान्भामा एआईको सहयोगमा डिजाइन टेम्प्लेट सिर्जना गर्न सकिनेछ । इन्स्टाकार्टसँगको एकीकरणपछि भने एआईले आवश्यक खाद्यान्न तथा किराना सामाग्री सिधै प्रयोगकर्ताको किनमेल सूचीमा थप्न सक्ने सुविधा उपलब्ध हुनेछ ।

यसअघि गुगलले एआई मोडमा ‘पर्सनल इन्टेलिजेन्स’ सुविधा पनि थपेको थियो । यो सुविधाले प्रयोगकर्ताको अनुमति लिएर अन्य गुगल एप तथा सेवाबाट आवश्यक जानकारी प्रयोग गरी थप व्यक्तिगत र सान्दर्भिक जवाफ उपलब्ध गराउन सक्छ ।

कम्पनीले सन् २०२६ भरि गुगल सर्चमा एआई सुविधाहरू विस्तार गर्ने रणनीति अघि बढाएको छ । यसैक्रममा गुगलले नयाँ ‘इन्टेलिजेन्ट सर्च बक्स’ पनि सार्वजनिक गरेको छ, जसले जटिल खोजका लागि ठूलो इनपुट क्षेत्र उपलब्ध गराउनुका साथै भिडियो, तस्बिर, फाइल र क्रोम ट्याबबाट समेत जानकारी विश्लेषण गरेर खोज परिणाम प्रदान गर्न सक्छ ।