काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो नयाँ संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरी राष्ट्रिय किताबखानामा दर्ता गराएको छ । यससँगै उक्त मन्त्रालय संगठन संरचना तथा दरबन्दी तेरिज दर्ता गर्ने दोस्रो मन्त्रालय बनेको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार मन्त्रालयबाट प्राप्त संगठन संरचना तथा दरबन्दी तेरिजलाई ‘द्रुत प्रक्रिया (फास्ट ट्र्याक)’ मार्फत सोही दिन दर्ता गरिएको हो ।
उनले संगठन तथा व्यवस्थापनसम्बन्धी कामलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन विशेष तालिम प्राप्त जनशक्तिसहितको कार्यदल परिचालन गरिएको जानकारी दिए । मन्त्री महावीर पुनको नेतृत्वमा रहेको मन्त्रालयको स्वीकृत संरचनाअनुसार मन्त्रालयमा एक जना विशिष्ट श्रेणीको सचिव रहने व्यवस्था गरिएको छ ।
त्यस्तै, दुई जना इन्जिनियरिङ सेवाका सहसचिव र एक जना प्रशासन सेवाका सहसचिवसहित तीन जना सहसचिव रहनेछन् । नयाँ संगठन संरचनाअनुसार मन्त्रालयमा कुल ९० वटा दरबन्दी स्वीकृत गरिएको छ ।
यसबाट मन्त्रालयको प्रशासनिक संरचना थप व्यवस्थित हुने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सरकारले मन्त्रालय तथा विभिन्न निकायको संगठन संरचना र दरबन्दीलाई समयानुकूल बनाउने नीति अघि बढाइरहेका बेला विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले दर्ता प्रक्रिया पूरा गरेको हो ।
राष्ट्रिय किताबखानाले पनि संगठन संरचना तथा दरबन्दी अभिलेखीकरणलाई द्रुत गतिमा अघि बढाउन फास्ट ट्र्याक सेवा सञ्चालन गरिरहेको जनाएको छ ।
यसअघि एक मन्त्रालयले मात्र संगठन संरचना तथा दरबन्दी तेरिज दर्ता गरिसकेको थियो । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय दोस्रो मन्त्रालयका रूपमा यो प्रक्रिया पूरा गर्दै नयाँ संरचना कार्यान्वयनतर्फ अघि बढेको छ ।
मन्त्रालयले नयाँ संरचनाले सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा जनशक्ति परिचालनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।
आईसीटी समाचार