कीवर्डहरू -

मेटाको एल्गोरिदमले कसरी काम गर्छ ? फेसबुक र इन्स्टाग्रामले तपाईंलाई कुन पोस्ट देखाउने भनेर कसरी तय गर्छ ?

मेटाको एल्गोरिदमले कसरी काम गर्छ ? फेसबुक र इन्स्टाग्रामले तपाईंलाई कुन पोस्ट देखाउने भनेर कसरी तय गर्छ ?

काठमाडौं । के तपाईंले कहिले सोच्नुभएको छ, फेसबुक खोल्नेबित्तिकै केही विशेष प्रकारका पोस्टहरू किन सबैभन्दा माथि देखिन्छन् ? कुनै एक साथीको पोस्ट तुरुन्तै देखिन्छ, तर अर्को साथीको पोस्ट भने धेरै दिनसम्म पनि देखिँदैन । इन्स्टाग्राममा पनि यस्तै हुन्छ । कहिले काहीँ आफूले फलो नै नगरेको कुनै क्रिएटरको रील्स अचानक स्क्रिनमा देखा पर्छ ।

यी सबैको पछाडि मेटाको एल्गोरिद्म (Meta Algorithm) ले काम गरिरहेको हुन्छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो पोस्ट केही समयका लागि गल्तीवश हटाइएपछि मेटाको एल्गोरिद्म फेरि चर्चामा आएको छ । मेटाले २३ जुलाई २०२६ मा पोस्ट गरिएको उक्त भिडियो गल्तीले हटेको स्वीकार गर्दै माफी समेत मागेको थियो । यो पहिलो पटक भने होइन । यसअघि पनि मेटाको एल्गोरिद्ममाथि केही सामाग्रीलाई दबाउने वा अनावश्यक रूपमा प्रवर्द्धन गर्ने आरोपहरू लाग्दै आएका छन् ।

अब मुख्य प्रश्नमा फर्कौं- मेटाको एल्गोरिद्म आखिर के हो र यसले कसरी काम गर्छ ? सरल भाषामा भन्नुपर्दा, एल्गोरिद्म यस्तो प्रणाली हो जसले हरेक सेकेन्ड करोडौं पोस्टहरूको विश्लेषण गरेर तपाईंको स्क्रिनमा सबैभन्दा पहिले कुन सामाग्री देखाउने भन्ने निर्णय गर्छ ।

मेटासँग एउटा मात्र होइन, विभिन्न उद्देश्यका लागि छुट्टाछुट्टै एल्गोरिद्म छन् । फेसबुक, इन्स्टाग्राम, रील्स, एक्सप्लोर पेज र थ्रेड्सका लागि फरक फरक एल्गोरिद्म प्रयोग गरिन्छ । तर सबैको उद्देश्य एउटै हो- प्रयोगकर्तालाई उसले रुचाउने सम्भावना सबैभन्दा बढी भएको सामाग्री देखाउनु ।

मेटाको एल्गोरिद्म कसरी काम गर्छ ?
मेटाको एल्गोरिद्म कुनै जादु होइन । यो कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित अत्यन्तै छिटो र बुद्धिमान सिफारिस प्रणाली (Recommendation System) हो । यसले तपाईंको हरेक क्लिक, लाइक, कमेन्ट, शेयर, सेभ र भिडियो हेरेको समयजस्ता गतिविधिको विश्लेषण गर्छ । ती जानकारीबाट सिकेर अर्को पटक तपाईंलाई कुन पोस्ट देखाउने भन्ने निर्णय गर्छ । मेटाको हेल्प पेजका अनुसार यसको प्रक्रिया मुख्यत: चार चरणमा काम गर्छ ।

१. सबै सम्भावित पोस्टहरूको सूची तयार गरिन्छ
मानौं, तपाईंले बिहान ८ बजे फेसबुक खोल्नुभयो । एप खुल्नेबित्तिकै मेटाले तपाईंलाई देखाउन सकिने सबै सामाग्रीको सूची तयार गर्छ । यसलाई इनभेन्टरी (Inventory) भनिन्छ । यस सूचीमा समावेश हुन्छन्;
- तपाईंका साथीहरूको पोस्ट
- तपाईंले फलो गरेका पेजका पोस्ट
- तपाईं सदस्य रहेको समूहका पोस्ट
- प्रायोजित (Sponsored) पोस्ट
- AI ले सिफारिस गरेका पोस्ट
- रील्स
- भाइरल भिडियोहरू

यसलाई कुनै होटलले ग्राहकका लागि सम्पूर्ण मेनु तयार गरेजस्तै बुझ्न सकिन्छ ।

२. प्रत्येक पोस्टको विस्तृत विश्लेषण
इनभेन्टरी तयार भएपछि एल्गोरिद्मले प्रत्येक पोस्टसँग सम्बन्धित हजारौं संकेतको विश्लेषण गर्छ । जस्तै-
- पोस्ट कसले गरेको हो ?
- पोस्ट गर्ने व्यक्ति तपाईंसँग कति नजिकको छ ?
- पोस्ट कति पुरानो हो ?
- त्यसमा कति लाइक आएका छन् ?
- कति शेयर गरिएको छ ?
- कति कमेन्ट आएका छन् ?

यससँगै एल्गोरिद्मले तपाईंको प्रयोग गर्ने तरिका पनि हेर्छ, जस्तै-
- मोबाइलबाट चलाइरहनुभएको छ कि कम्प्युटरबाट ?
- दिनको कुन समयमा फेसबुक वा इन्स्टाग्राम प्रयोग गर्दै हुनुहुन्छ ?
- इन्टरनेटको गति कस्तो छ ?
- केही क्षणअघि तपाईंले कस्तो प्रकारको पोस्ट हेर्नुभएको थियो ?

यी सबै जानकारी एल्गोरिद्मका लागि महत्त्वपूर्ण संकेत हुन् ।

३. AI ले अनुमान गर्छ
मेटाको AI ले तपाईंको मन पढ्ने प्रयास गर्दैन । बरु, तपाईंका अघिल्ला व्यवहार र रुचिको विश्लेषण गरेर अनुमान लगाउँछ । उदाहरणका लागि, यदि तपाईं नियमित रूपमा क्रिकेटका भिडियो हेर्नुहुन्छ, क्रिकेटसम्बन्धी पोस्ट लाइक र शेयर गर्नुहुन्छ भने, विराट कोहली वा शुभमन गिलको नयाँ रील्स आएको खण्डमा AI ले तपाईंलाई त्यो मनपर्ने सम्भावना बढी रहेको अनुमान गर्छ ।

त्यसैगरी, यदि तपाईं शेयर बजारसम्बन्धी सामाग्री धेरै हेर्नुहुन्छ भने, तपाईंको फिडमा त्यही विषयका पोस्टहरू अझ बढी देखिन थाल्छन् । यही कारणले कहिले काहीँ आफूले फलो नगरेको क्रिएटरको रील्स पनि तपाईंको फिडमा देखिन्छ ।

४. प्रत्येक पोस्टलाई ‘रेलेभेन्स स्कोर’ दिइन्छ
AI ले प्रत्येक पोस्टका लागि विभिन्न सम्भावनाको अनुमान गर्छ । उदाहरणका लागि;
- तपाईंले यो पोस्ट लाइक गर्नुहुन्छ कि हुँदैन ?
- कमेन्ट गर्नुहुन्छ ?
- शेयर गर्नुहुन्छ ?
- भिडियो अन्तिमसम्म हेर्नुहुन्छ ?
- पोस्ट सेभ गर्नुहुन्छ ?

यी सबै अनुमानका आधारमा प्रत्येक पोस्टलाई रेलेभेन्स स्कोर दिइन्छ ।

यदि कुनै भिडियो तपाईंले पूरा हेर्ने सम्भावना ९० प्रतिशत छ र लाइक गर्ने सम्भावना ४० प्रतिशत छ भने, त्यस पोस्टको स्कोर बढ्छ । स्कोर जति उच्च हुन्छ, त्यो पोस्ट तपाईंको फिडमा त्यति नै माथि देखिन्छ । स्कोर कम भएमा पोस्ट तल जान्छ वा कहिले काहीँ तपाईंको फिडमा देखिँदैन ।

सरल भाषामा भन्नुपर्दा, मेटाले प्रत्येक पोस्टसँग एउटा प्रश्न सोध्छ- "के यो सामाग्री यस प्रयोगकर्ताका लागि उपयोगी वा रुचिकर छ ?" यदि AI को उत्तर "हो" हुन्छ भने, उक्त पोस्टलाई तपाईंको फिडमा प्राथमिकताका साथ माथि देखाइन्छ ।