काठमाडौं । गुगलले आफ्नो एआई सहायक जेमिनीको क्षमता विस्तार गर्दै गुगल डक्स प्रयोगकर्ताका लागि नयाँ एआई आधारित कमेन्ट व्यवस्थापन सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले कागजातमा आएका कमेन्टहरूको व्यवस्थापन र सहकार्यलाई थप सहज बनाउने कम्पनीको विश्वास छ ।
नयाँ सुविधाअन्तर्गत जेमिनीले सहकर्मी वा अन्य प्रयोगकर्ताले गरेका कमेन्टहरू पढेर तिनको सारांश तयार गर्न, सम्भावित जवाफको मस्यौदा (ड्राफ्ट) बनाउन तथा प्रयोगकर्ताको तर्फबाट उपयुक्त जवाफ सुझाव दिन सक्नेछ । साथै, जेमिनीले सम्पूर्ण डकुमेन्टको विश्लेषण गरेर आवश्यक सुधार वा सुझावहरू कमेन्टका रूपमा प्रस्तुत गर्न पनि सक्षम हुनेछ ।
गुगलका अनुसार, यस सुविधाले धेरै कमेन्ट भएका कागजातमा मुख्य विषय वस्तु छिटो बुझ्न, प्रतिक्रिया व्यवस्थापन गर्न र सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । प्रयोगकर्ताले प्राप्त सुझावका आधारमा कागजातमा आवश्यक सुधार गर्न जेमिनीको सहायता लिन सक्नेछन् ।
यो सुविधा गुगल डक्सको तल्लो टुलबार वा जेमिनी साइड प्यानलबाट प्रयोग गर्न सकिनेछ । हाल यो सुविधा सम्पादन अनुमति भएका प्रयोगकर्ताका लागि चरणबद्ध रूपमा उपलब्ध गराउन थालिएको गुगलले जनाएको छ । सबै योग्य प्रयोगकर्तासम्म यो सुविधा पुग्न करिब १५ दिन लाग्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
गुगलका अनुसार, यो सुविधा Google AI Pro for Education, Google AI Pro तथा Google AI Ultra सदस्यताका प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।
आईसीटी समाचार