काठमाडौं । गुगलले macOS मा जेमिनी प्रयोगकर्ताका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले किबोर्डको तल बायाँ भागमा रहेको ‘Fn’ (फङ्सन) की केही समय थिचेर जुनसुकै विन्डोबाट सिधै जेमिनीसँग आवाजमार्फत संवाद गर्न सक्नेछन् ।
गुगलका अनुसार यो सुविधाले प्रयोगकर्ताले बोलेका कुरालाई स्वत: टेक्स्टमा रूपान्तरण गर्नेछ । साथै, ‘उम्’, ‘आह’ जस्ता अनावश्यक शब्द हटाएर सफा र व्यवस्थित ट्रान्सक्रिप्ट पनि तयार गर्नेछ, जसले नोट लेख्न र सामाग्री व्यवस्थित गर्न सहज बनाउनेछ ।
यदि प्रयोगकर्ताले स्क्रिन-अवेयर रिजनिङ सुविधा सक्रिय गरेमा, जेमिनीले कम्प्युटरको स्क्रिनमा देखिएका सामाग्री र खुला रहेका एपहरू बुझेर थप जटिल कार्य गर्न सक्नेछ । उदाहरणका लागि, पीडीएफमा रहेको पाठको सारांश तयार गर्ने, नोटलाई इमेलमा रूपान्तरण गर्ने वा आवाजमार्फत विवरण दिएर तस्बिर सिर्जना गर्न निर्देशन दिने जस्ता काम गर्न सकिनेछ ।
यसअघि गुगलले अप्रिलमा macOS का लागि नेटिभ जेमिनी एप सार्वजनिक गरेको थियो । त्यसपछि जुन महिनामा उक्त एपमा Spark एआई सहायक थपिएको थियो । अहिले कम्पनीले नयाँ Fn की सर्टकट सुविधा विश्वभरका सबै macOS जेमिनी प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको जनाएको छ । हाल यो सुविधा अंग्रेजी भाषामा मात्र उपलब्ध छ ।
आईसीटी समाचार