कीवर्डहरू -

विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन चुम्बक परीक्षणमा चीन सफल, ऊर्जा प्रविधिमा नयाँ कीर्तिमान

विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन चुम्बक परीक्षणमा चीन सफल, ऊर्जा प्रविधिमा नयाँ कीर्तिमान

काठमाडौं । चीनले आफ्नो आणविक फ्युजन परियोजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । चीनले ५८२ टन तौल भएको विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन रियाक्टर चुम्बकको सफल परीक्षण सम्पन्न गरेको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार २१ मिटर लामो उक्त चुम्बकलाई हालसम्म निर्माण गरिएका फ्युजन रियाक्टर चुम्बकमध्ये सबैभन्दा ठूलो मानिएको छ । यसलाई हेफेईस्थित चिनियाँ विज्ञान प्रतिष्ठान (Chinese Academy of Sciences) अन्तर्गतको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सले विकास गरेको हो ।

यो ‘टोरोइडल फिल्ड’ (Toroidal Field) चुम्बक हो, जुन फ्युजन रियाक्टरको सबैभन्दा महत्त्वपूर्ण अवयवमध्ये एक मानिन्छ । विश्वभरका वैज्ञानिकहरूले फ्युजनलाई भविष्यको स्वच्छ र दिगो ऊर्जा उत्पादनको उत्कृष्ट माध्यमका रूपमा हेर्दै आएका छन् । चीनको यो उपलब्धिले यस क्षेत्रमा भइरहेको तीव्र प्रगतिलाई थप स्पष्ट पारेको छ ।

उक्त चुम्बक चीनको हाल सञ्चालनमा रहेको ‘इस्ट’ (EAST) टोकामाकका लागि नभई अर्को पुस्ताको फ्युजन परियोजना ‘बेस्ट’ (BEST) का लागि निर्माण गरिएको हो । फ्युजन रियाक्टरमा हाइड्रोजनलाई १० करोड डिग्री सेल्सियसभन्दा बढी तापक्रममा तताइन्छ, जुन सूर्यको केन्द्रको तापक्रमभन्दा करिब छ गुणा बढी हो ।

यति उच्च तापक्रममा कुनै पनि ठोस पदार्थले प्लाज्मासँग प्रत्यक्ष सम्पर्क गर्न सक्दैन । त्यसैले शक्तिशाली चुम्बकमार्फत चुम्बकीय क्षेत्र सिर्जना गरी ‘डोनट’ आकारको टोकामाक च्याम्बरभित्र प्लाज्मालाई हावामै स्थिर राखिन्छ ।

उक्त चुम्बक सुपरकन्डक्टिङ (अतिचालक) प्रविधिमा आधारित छ । यसलाई अत्यन्त न्यून तापक्रममा राखिने भएकाले यसको विद्युतीय प्रतिरोध लगभग शून्य हुन्छ । यही कारण न्यून ऊर्जा खपतमा अत्यधिक विद्युत् प्रवाह गराउन सकिन्छ ।

चिनियाँ वैज्ञानिकहरूका अनुसार यो चुम्बक हाल फ्रान्समा निर्माणाधीन अन्तर्राष्ट्रिय आइटिएआर (ITER) परियोजनाको चुम्बकभन्दा करिब १.३ गुणा ठूलो छ । साथै यसले तीन गुणासम्म बढी चुम्बकीय ऊर्जा सञ्चय गर्न सक्ने क्षमता राख्छ ।

यसको निर्माणमा करिब छ वर्ष लागेको थियो । यस अवधिमा कन्डक्टर निर्माण, संरचनात्मक इन्जिनियरिङ, क्रायोजेनिक प्रविधि तथा सुरक्षा प्रणालीमा उल्लेखनीय नवीनता हासिल हुनुका साथै दर्जनौं पेटेन्ट दर्ता गर्न समेत सफलता मिलेको वैज्ञानिकहरूले बताएका छन् ।

चीनको ‘इस्ट’ टोकामाकलाई ‘कृत्रिम सूर्य’का रूपमा चिनिन्छ । यसले अत्यन्त उच्च तापक्रममा लामो समयसम्म प्लाज्मा कायम राख्दै धेरै विश्व कीर्तिमान कायम गरिसकेको छ ।

यद्यपि, यो अनुसन्धानका लागि प्रयोग हुने उपकरण मात्र हो । यस परियोजनाको अन्तिम लक्ष्य ‘बेस्ट’ रियाक्टरमार्फत निरन्तर जलिरहने प्लाज्मालाई स्थिर रूपमा नियन्त्रण गर्दै व्यावसायिक रूपमा विद्युत् उत्पादन सम्भव बनाउनु हो ।

चीनको योजनाअनुसार ‘बेस्ट’ रियाक्टरको निर्माण सन् २०२७ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । सबै योजना अनुरूप अघि बढेमा सन् २०३० को आसपास फ्युजन प्रविधिबाट विद्युत् उत्पादनको सफल प्रदर्शन गर्न सकिने विश्वास गरिएको छ ।