कीवर्डहरू -

गुगल प्लेमा नयाँ सुरक्षा सुविधा, उमेर समूहअनुसार एप चल्ने

गुगल प्लेमा नयाँ सुरक्षा सुविधा, उमेर समूहअनुसार एप चल्ने

काठमाडौं । गुगलले प्रयोगकर्ताको उमेर समूहका आधारमा एपको सामाग्री र सुविधा व्यवस्थापन गर्न सहयोग गर्ने 'प्ले एज सिग्नल्स एपीआई (Play Age Signals API)' विश्वव्यापी रूपमा विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यसले एप विकासकर्तालाई प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्दै उमेरअनुकूल सेवा उपलब्ध गराउन मद्दत गर्नेछ ।

यो प्रणाली प्रयोग गर्न इच्छुक प्रयोगकर्ताले गुगल प्लेमार्फत डाउनलोड गरेका एपसँग आफ्नो उमेर समूह साझा गर्न सहमति दिनुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित एप विकासकर्ताले प्राप्त जानकारीका आधारमा उमेरअनुसारका फिचर, सामाग्री तथा सुरक्षा व्यवस्था लागू गर्न सक्नेछन् ।

गुगलका अनुसार वयस्क तथा किशोर प्रयोगकर्ताले आफूले चाहेका एपका लागि छुट्टाछुट्टै उमेर समूह साझा गर्न सक्नेछन् । बालबालिकाको हकमा भने अभिभावकले गुगल फ्यामिली लिंक मार्फत उनीहरूको उमेर समूह व्यवस्थापन गर्न सक्नेछन् । एकपटक अनुमति दिएपछि एपीआई प्रयोग गर्ने सबै एपमा सो सेटिङ स्वत: लागू हुनेछ, जसले प्रत्येक एपमा अलग–अलग सेटिङ गर्नुपर्ने झन्झट हटाउने कम्पनीको दाबी छ ।

यो प्रणालीमा प्रयोगकर्ताले आफ्नो वास्तविक जन्ममिति वा उमेर सार्वजनिक गर्नुपर्दैन । केवल उमेर समूह मात्र साझेदारी गरिने भएकाले एप विकासकर्ताले राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र वा अन्य संवेदनशील परिचयपत्र सङ्कलन तथा भण्डारण गर्नुपर्ने आवश्यकता नपर्ने गुगलले जनाएको छ ।

गुगल प्लेका उत्पादन व्यवस्थापन उपाध्यक्ष पाउल फेङले सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको बताए । उनका अनुसार नयाँ एपीआईले अभिभावकलाई बालबालिकाको अनलाइन अनुभव व्यवस्थापन गर्न सहज बनाउनेछ भने विकासकर्तालाई पनि उमेरअनुसारका उपयुक्त सुविधा उपलब्ध गराउने अवसर दिनेछ ।

कम्पनीले भने एपीआई प्रयोग गर्ने वा नगर्ने तथा उमेरअनुसारका सुरक्षा उपाय कसरी लागू गर्ने भन्ने निर्णय विकासकर्ताकै रहने स्पष्ट पारेको छ । फेङका अनुसार सबै एपको जोखिम समान नहुने भएकाले एउटै मापदण्ड लागू गर्नुको सट्टा आवश्यकताअनुसार लचकता दिइएको हो ।

टेलिकम्स डटकमका अनुसार यो सुविधा हाल ब्राजिलमा उपलब्ध छ । अगस्टको मध्यदेखि अस्ट्रेलिया र क्यानडाबाट यसको विश्वव्यापी विस्तार सुरु हुनेछ भने सन् २०२६ को अन्त्यसम्म सबै गुगल प्ले विकासकर्ताका लागि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यो एपीआई गुगलले यस वर्ष सुरु गरेको उमेर प्रमाणीकरण प्रणालीको पूरक सुविधा हो । उक्त प्रणालीमार्फत प्रयोगकर्ताले परिचयपत्र, बैंक कार्डको तस्बिर वा सेल्फी प्रयोग गरेर आफ्नो उमेर प्रमाणित गर्न सक्छन् ।

बालबालिकालाई इन्टरनेटका अनुपयुक्त सामग्रीबाट जोगाउन विभिन्न देशले कानुनी व्यवस्था कडा बनाइरहेका बेला गुगलको यो कदमलाई सोही प्रयासको निरन्तरताका रूपमा हेरिएको छ ।

बेलायतको सञ्चार नियामक अफकमले पनि सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा बालबालिकाको सुरक्षासम्बन्धी नियम कडा बनाउने तयारी गरिरहेको छ । अफकमले यसअघि युट्युब र टिकटकलाई न्यूनतम उमेरसम्बन्धी नियम प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिँदै बालबालिकाको सुरक्षामा पर्याप्त प्रयास नगरेको भन्दै आलोचना गरेको थियो ।

यसैबीच, एप्पलले भने आफ्नो आईओएस २६.४ अद्यावधिकमार्फत अपरेटिङ सिस्टम स्तरमै उमेर प्रमाणीकरण सुविधा लागू गरिसकेको छ । प्रयोगकर्ताले उमेर प्रमाणीकरण नगरे पनि एप्पलका वेब सामाग्री फिल्टर र सञ्चार सुरक्षा सुविधाहरू स्वत: सक्रिय हुने व्यवस्था गरिएको छ ।

गुगलको नयाँ 'प्ले एज सिग्नल्स एपीआई' विश्वभर विस्तार भएसँगै उमेरअनुकूल डिजिटल अनुभव प्रदान गर्दै विशेष गरी बालबालिकाको अनलाइन सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ ।