काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (+२) उत्तीर्ण गरेका विद्यार्थीहरूमा नवप्रवर्तन, प्रविधि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरस्थित पिसिपीएस कलेज (PCPS College) ले ‘ह्याक फर इम्प्याक्ट (Hack4Impact)’ नामक तीनदिने राष्ट्रिय ह्याकाथन आयोजना गर्ने भएको छ ।
‘नेब रिजल्ट एन्ड न्युज (NEB Result and News)’ को सहकार्यमा आगामी श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका युवा डेभलपर, डिजाइनर, उद्यमी तथा नवप्रवर्तकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
कलेजका अनुसार ह्याकाथनको उद्देश्य विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षाबाट बाहिर ल्याई वास्तविक समस्यामा आधारित समाधान विकास गर्न प्रेरित गर्नु हो । सहभागीहरूले समाजका विविध चुनौती पहिचान गरी प्रविधिमार्फत नवीन समाधान तयार गर्नेछन् भने सहकार्य, समस्या समाधान र उद्यमशीलताको व्यावहारिक अनुभव पनि प्राप्त गर्नेछन् ।
कार्यक्रममा सूचना प्रविधि, स्टार्टअप र वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्वहरूले मेन्टर तथा वक्ताका रूपमा सहभागी हुनेछन् । मुख्य वक्ताका रूपमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घका कार्यवाहक अध्यक्ष तथा वान कभरका प्रमुख कार्यकारी अधिकृत (CEO) चिरञ्जीवी अधिकारी, खल्तीका पूर्व प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा वित्तीय विज्ञ एवं उद्यमी सञ्जोग कोइराला रहनेछन् । उनीहरूले प्रविधि, स्टार्टअप, नेतृत्व, नवप्रवर्तन र करियर विकासका विषयमा आफ्ना अनुभव सहभागीहरूसँग साझा गर्नेछन् ।
त्यसैगरी, नेपालका अग्रणी प्रविधि कम्पनीहरूमा कार्यरत सफ्टवेयर डेभलपर, UI/UX डिजाइनर, इन्जिनियर तथा प्रडक्ट म्यानेजरहरूले तीन दिनसम्म टोलीहरूलाई प्रत्यक्ष मेन्टरशिप प्रदान गर्नेछन् । उनीहरूले आइडिया छनोटदेखि प्राविधिक चुनौती समाधान, व्यवसायिक मोडल विकास र अन्तिम प्रस्तुति तयारीसम्म सहजीकरण गर्ने कलेजले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने टोलीले नगद ५० हजार रुपैयाँसहित लक्जरी भिल्ला वेकेशन पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ र लक्जरी भिल्ला वेकेशन प्रदान गरिनेछ । साथै, सबै सहभागीले सहभागिताको प्रमाणपत्र, उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङ गर्ने अवसर तथा व्यावसायिक सिकाइको अनुभव प्राप्त गर्नेछन् ।
कलेजका अनुसार ह्याकाथनमा प्राविधिक विषय अध्ययन गरेका विद्यार्थी मात्र नभई टेक्निकल राइटर, ब्लगर, फोटोग्राफर, भिडियोग्राफर तथा कन्टेन्ट क्रिएटरहरूले पनि सहभागिता जनाउन सक्नेछन् । इच्छुक सहभागीहरूले व्यक्तिगत रूपमा, कार्यक्रमस्थलमै टोली गठन गरेर वा पूर्वनिर्मित टोलीसँग आयोजकले उपलब्ध गराएको आधिकारिक अनलाइन फारममार्फत दर्ता गर्न सक्नेछन् ।
आईसीटी समाचार