काठमाडौं । आज इमेल बिना व्यक्तिगत तथा व्यावसायिक सञ्चारको कल्पना गर्नै कठिन छ । जागिरका लागि आवेदन दिनेदेखि सरकारी तथा संस्थागत पत्राचारसम्म इमेल दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । तर धेरैलाई थाहा नहुन सक्छ, इमेलको इतिहास ‘वर्ल्ड वाइड वेब (WWW)’ भन्दा पनि पुरानो हो ।
सन् १९७१ मा कम्प्युटर इन्जिनियर रे टमलिन्सनले विश्वको पहिलो इमेल पठाएर डिजिटल सञ्चारको नयाँ युगको सुरुवात गरेका थिए । उनले पठाएको पहिलो इमेल कुनै टाढाको देश वा सहरमा होइन, एउटै कोठामा रहेका अर्को कम्प्युटरमा पुगेको थियो । त्यो परीक्षणको उद्देश्य केवल दुई फरक कम्प्युटरबीच सन्देश पठाउन सम्भव छ कि छैन भन्ने कुरा प्रमाणित गर्नु थियो ।
त्यसबेला इन्टरनेटको अहिलेको स्वरूप अस्तित्वमै थिएन । अझ ‘वर्ल्ड वाइड वेब’ त झन्डै दुई दशकपछि मात्रै विकास भएको थियो । त्यसअघि नै इमेल प्रविधिले डिजिटल सञ्चारको आधार तयार गरिसकेको थियो ।
पहिलो इमेलको सामाग्री भने कुनै ऐतिहासिक वा विशेष सन्देश थिएन । रे टमलिन्सनले पछि दिएको अन्तर्वार्तामा आफूलाई त्यो सन्देश के थियो भन्ने सम्झना समेत नरहेको बताएका थिए । उनका अनुसार सम्भवत: किबोर्डको माथिल्लो पङ्क्तिमा रहेका केही अक्षरहरू जथाभावी टाइप गरेर परीक्षण गरिएको थियो । अर्थात्, पहिलो इमेलको उद्देश्य कुनै सूचना आदानप्रदान गर्नु नभई प्रणालीले सही ढंगले काम गरिरहेको छ कि छैन भन्ने परीक्षण गर्नु मात्र थियो ।
त्यतिबेला टमलिन्सन अमेरिकी कम्पनी बीबीएन टेक्नोलोजीजमा कार्यरत थिए । उक्त कम्पनी अमेरिकी रक्षा मन्त्रालयको अर्पानेट (ARPANET) परियोजनामा संलग्न थियो, जसलाई आधुनिक इन्टरनेटको आधार मानिन्छ ।
रोचक पक्ष के भने इमेल प्रणाली विकास गर्नु उनको आधिकारिक जिम्मेवारी थिएन । व्यक्तिगत रुचि र प्रयोगका क्रममा उनले ‘SNDMSG’ नामक एउटा प्रोग्राम तयार पारे, जसले दुई कम्प्युटरबीच सन्देश आदानप्रदान गर्न सम्भव बनायो । यही प्रविधिले पछि विश्वभर प्रयोग हुने आधुनिक इमेल सेवाहरूको आधार तयार गर्यो ।
रे टमलिन्सनको अर्को महत्त्वपूर्ण योगदान इमेल ठेगानामा ‘@’ (एट द रेट) चिन्हको प्रयोग हो । यही चिन्हमार्फत प्रयोगकर्ताको नाम र सर्भरलाई छुट्याउने व्यवस्था सुरु भयो, जुन आज पनि विश्वभरका सबैजसो इमेल ठेगानामा प्रयोग हुँदै आएको छ ।
यसका साथै उनले इमेल हेडरको आधारभूत संरचना विकास गर्न पनि योगदान दिएका थिए । पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि उनका यी नवप्रवर्तनहरू आधुनिक इमेल प्रणालीका आधारस्तम्भका रूपमा कायम छन् ।
आईसीटी समाचार