कीवर्डहरू -

नेकपा एमालेले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

नेकपा एमालेले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत यो योजना अघि बढाइएको हो ।

राजधानी प्रदेश कमिटीले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा पार्टी नेतृत्वले डिजिटल सदस्यता प्रणाली लागू गर्ने तयारीबारे जानकारी दिएको हो । पार्टीका सचिव डा. राजन भट्टराईले संगठन सञ्चालनमा सूचना प्रविधिको अधिकतम उपयोग गरिने बताए ।

उनका अनुसार पार्टीको सदस्य विवरण, संगठनात्मक अवस्था, सूचना आदानप्रदान, प्रतिवेदन व्यवस्थापन तथा जनसम्पर्कका गतिविधिलाई डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ । उनले डिजिटल प्रणालीमार्फत पार्टी संगठनलाई अझ व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाउने लक्ष्य रहेको बताए ।

कार्यशालामा पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र संगठनात्मक क्षमता अभिवृद्धिका लागि वडा र पालिका तहसम्म नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको जानकारी दिएको छ ।

पार्टीका अर्का सचिव भानुभक्त ढकालले सदस्यता तथा अन्य महत्वपूर्ण अभिलेखलाई प्राकृतिक विपत्ति वा अन्य सम्भावित जोखिमबाट सुरक्षित राख्न डिजिटल प्रणाली आवश्यक रहेको बताए । उनका अनुसार डिजिटल सदस्यता प्रणालीले अभिलेख व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र छिटो बनाउनुका साथै संगठन सञ्चालनलाई पनि थप प्रभावकारी बनाउनेछ ।

एमालेले ‘मिसन पार्टी जागरण’ अभियानमार्फत पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्दै संगठनलाई तल्लो तहसम्म सक्रिय र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।