कीवर्डहरू -

अमेजनको एआई रणनीतिमा ऊर्जा पनि, डेटा सेन्टरका लागि टेक्सासमा विशाल ग्यास प्लान्ट

अमेजनको एआई रणनीतिमा ऊर्जा पनि, डेटा सेन्टरका लागि टेक्सासमा विशाल ग्यास प्लान्ट

काठमाडौं । एआई प्रविधिको तीव्र विस्तारसँगै डेटा सेन्टर सञ्चालनका लागि आवश्यक विद्युत्को माग बढ्दै गएपछि अमेरिकी प्रविधि कम्पनी अमेजनले आफ्नै ऊर्जा पूर्वाधार निर्माणतर्फ ठूलो कदम अघि बढाएको छ । कम्पनीले टेक्सासको पेकोस काउन्टीमा निर्माण हुने विशाल प्राकृतिक ग्यास विद्युत् प्लान्टमार्फत आफ्ना नयाँ डेटा सेन्टर सञ्चालन गर्ने योजना अघि सारेको हो ।

‘जीडब्ल्यू रान्च’ नाम दिइएको उक्त परियोजनामा ३५ वटा टर्बाइन रहनेछन् र यसको कुल विद्युत् उत्पादन क्षमता करिब ७.६५ गिगावाट हुने अनुमान गरिएको छ । यो क्षमता अमेरिकामा हाल सञ्चालनमा रहेका ग्यासबाट विद्युत् उत्पादन गर्ने ठूला प्लान्टमध्ये सबैभन्दा ठूलो हुने बताइएको छ ।

डेटा सेन्टरकै लागि छुट्टै विद्युत्
अमेजनको योजना परम्परागत विद्युत् प्रणालीभन्दा केही फरक छ । पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टरलाई आवश्यक विद्युत् सुरुवाती चरणमा नयाँ निर्माण हुने प्लान्टबाटै उपलब्ध गराउने गरी परियोजना अघि बढाइएको छ ।

कम्पनीका अनुसार यसरी आफ्नै ऊर्जा पूर्वाधार निर्माण गर्दा डेटा सेन्टरका लागि आवश्यक विद्युत्को लागत सामान्य विद्युत् उपभोक्तामाथि सारिने छैन । अमेजनले आफ्नो सञ्चालनका लागि आवश्यक विद्युत्को पूर्ण लागत आफैँ बेहोर्ने जनाएको छ ।

परियोजनालाई पछि राष्ट्रिय विद्युत् ग्रिडसँग जोड्न सकिने गरी डिजाइन गरिएको छ । यसका अतिरिक्त अमेजनले उक्त क्षेत्रमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको सम्भावना समेत अध्ययन गरिरहेको जनाएको छ ।

एआईको बढ्दो मागले बदलिँदैछ डेटा सेन्टरको ऊर्जा रणनीति
ठूला भाषा मोडल, क्लाउड कम्प्युटिङ र अन्य एआई प्रणालीको प्रयोग तीव्र रूपमा बढेसँगै डेटा सेन्टरले पहिलेको तुलनामा निकै ठूलो मात्रामा विद्युत् आवश्यक पर्न थालेको छ । यही कारण प्रविधि कम्पनीहरू राष्ट्रिय विद्युत् ग्रिडमा मात्र निर्भर नरही डेटा सेन्टर नजिकै आफ्नै ऊर्जा उत्पादन गर्ने विकल्प तर्फ आकर्षित हुन थालेका छन् ।

बजार अनुसन्धान कम्पनी क्लीनभ्यूका अनुसार अमेजनसँगै मेटा, माइक्रोसफ्ट र ओरेकललगायत ठूला प्रविधि कम्पनीहरूले पनि यस्तै प्रकारका ‘मिटरपछाडि’ ऊर्जा परियोजनाहरू अघि बढाउने योजना बनाइरहेका छन् । कम्पनीहरूको प्रस्तावित परियोजनाको संयुक्त क्षमता करिब ९७ गिगावाट पुग्न सक्ने अनुमान गरिएको छ ।

तर वातावरणीय चिन्ता पनि बढ्यो
अमेजनको ऊर्जा योजनाले डेटा सेन्टरका लागि विद्युत् आपूर्तिको समस्या समाधान गर्ने सम्भावना देखाए पनि यसले वातावरणीय बहसलाई भने थप चर्काएको छ । प्रस्तावित ग्यास प्लान्टलाई वार्षिक तीन करोड मेट्रिक टनभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्न अनुमति दिइएको छ ।

वास्तविक उत्सर्जन अनुमति दिइएको अधिकतम सीमाभन्दा कम हुन सक्ने भएपनि परियोजनाको सम्भावित वातावरणीय प्रभावलाई लिएर चिन्ता व्यक्त गरिएको छ । विश्लेषकहरूले यस्ता ऊर्जा परियोजनाको संख्या बढ्दै जाँदा प्रविधि क्षेत्रबाट हुने कार्बन उत्सर्जन उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएका छन् ।

परियोजनाको संख्या, टर्बाइनको दक्षता र सञ्चालन अवधिअनुसार यस्ता परियोजनाबाट हुने वार्षिक कार्बन डाइअक्साइड उत्सर्जन २० करोड मेट्रिक टनभन्दा बढी पुग्न सक्ने अनुमान समेत गरिएको छ ।

ग्यास रोज्दा उठ्यो अर्को प्रश्न
अमेजनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाउँदै आएको छ । कम्पनीले सन् २०४० सम्ममा आफ्नो कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको छ । टेक्सासमै करिब १० गिगावाट क्षमताका ४० वटा कार्बनरहित ऊर्जा परियोजनालाई सहयोग गरिरहेको अमेजनको दाबी छ ।

तर वातावरणीय विज्ञहरूले नयाँ डेटा सेन्टरका लागि ठूलो क्षमताको प्राकृतिक ग्यास प्लान्ट निर्माण गर्ने निर्णय कम्पनीको दीर्घकालीन जलवायु लक्ष्यसँग कति मेल खान्छ भन्ने प्रश्न उठाएका छन् ।

युनियन अफ कन्सर्न्ड साइन्टिस्ट्सका ऊर्जा विश्लेषक जोन रोजर्सका अनुसार प्राकृतिक ग्यासबाट विद्युत् उत्पादन गर्नेभन्दा कम प्रदूषण हुने तथा बढी प्रभावकारी विकल्पहरू उपलब्ध छन् । ती विकल्पको सट्टा ठूलो ग्यास प्लान्ट रोज्दा स्थानीय प्रदूषण र वातावरणीय जोखिम बढ्न सक्ने उनको तर्क छ ।

कार्बन मात्र होइन, स्थानीय वायु प्रदूषणको चिन्ता
प्राकृतिक ग्यासलाई कोइलाभन्दा तुलनात्मक रूपमा कम प्रदूषणकारी मानिए पनि यसबाट हुने उत्सर्जन शून्य भने हुँदैन । ग्यास प्लान्टबाट कार्बन डाइअक्साइडसँगै नाइट्रोजन अक्साइड तथा अन्य वायु प्रदूषक उत्सर्जन हुन सक्छन् ।

प्राकृतिक ग्यासको प्रमुख घटक मिथेन उत्पादन, प्रशोधन र ढुवानीका क्रममा चुहावट हुँदा जलवायुमा थप असर पर्ने जोखिम समेत रहन्छ । त्यसैगरी सूक्ष्म कणलगायत केही हानिकारक प्रदूषकको उत्सर्जनले स्थानीय वायु गुणस्तरमा प्रभाव पार्न सक्ने विज्ञहरूको चिन्ता छ ।

पानीको प्रयोगबारे अमेजनको दाबी
डेटा सेन्टर सञ्चालनमा पानीको प्रयोग पनि महत्वपूर्ण विषय बन्ने गरेको छ । अमेजनले पेकोस काउन्टीको परियोजनामा पेयजलका लागि प्रयोग नहुने खारा भूमिगत पानी प्रयोग गर्ने जनाएको छ । यसबाट स्थानीय ताजा जलस्रोतमा पर्ने दबाब कम हुने कम्पनीको दाबी छ ।

अन्तत: अमेजनको टेक्सास परियोजनाले एआई र क्लाउड कम्प्युटिङको विस्तारले प्रविधि कम्पनीलाई नयाँ चुनौतीतर्फ धकेलिरहेको देखाएको छ । एआईका लागि थप कम्प्युटिङ शक्ति आवश्यक छ, कम्प्युटिङ शक्तिका लागि ठूलो ऊर्जा चाहिन्छ तर त्यो ऊर्जा कहाँबाट ल्याउने भन्ने प्रश्न अब प्रविधि उद्योगको मात्र नभई वातावरण र ऊर्जा नीतिको पनि महत्वपूर्ण मुद्दा बन्दै गएको छ ।