काठमाडौं । PostgreSQL Database Administration सम्बन्धी ६ दिने व्यावहारिक प्रशिक्षण काठमाडौंमा आयोजना हुने भएको छ । सिस्टम एडमिनिस्ट्रेटर, DevOps इन्जिनियर तथा PostgreSQL डेटाबेस व्यवस्थापनमा संलग्न डेभलपरलाई लक्षित गरी ‘PostgreSQL Database Administration Hands-on Training (DBA1.1, DBA1.2, DBA1.3)’ आयोजना गर्न लागिएको हो ।
नेपालस्थित PostgreSQL केन्द्रित कम्पनी Dharma of Data को आयोजनामा हुने प्रशिक्षण अगस्ट १५–१६, २२–२३ र २९–३० अर्थात् शनिबार र आइतबार सञ्चालन हुनेछ । प्रशिक्षण काठमाडौंको ठमेलस्थित होटल ठमेलमा हुनेछ ।
प्रशिक्षणमा PostgreSQL को आधारभूत प्रशासनदेखि उत्पादनस्तरको डेटाबेस व्यवस्थापनसम्मका विषयलाई प्रयोगात्मक रूपमा सिकाइने आयोजकले जनाएको छ । सहभागीले PostgreSQL 16 सहित तयार पारिएको भर्चुअल मेसिनमा प्रत्यक्ष अभ्यास गर्नेछन् ।
कार्यक्रममा PostgreSQL को आन्तरिक संरचना, प्रक्रिया तथा मेमोरी व्यवस्थापन, MVCC र WAL, सर्भर स्थापना तथा कन्फिगरेसन, डेटाबेस अनुगमन र समस्या पहिचानलगायत विषय समेटिनेछन् । त्यस्तै, ब्याकअप तथा रिकभरी, Point-in-Time Recovery, Replication, सुरक्षा र डेटाबेसको कार्यसम्पादन सुधारसम्बन्धी अभ्यास समेत गराइनेछ ।
ढिलो चल्ने क्वेरी पहिचान तथा सुधार, उत्पादनस्तरका सर्भरमा समस्या समाधान र डेटाबेसको विश्वसनीयता तथा पुन:प्राप्तिसम्बन्धी व्यावहारिक सीप विकासमा समेत प्रशिक्षण केन्द्रित हुनेछ ।
प्रशिक्षण तीनवटा दुई दिने चरणमा सञ्चालन हुनेछ । प्रत्येक दिन करिब ६ घण्टा प्रशिक्षण हुनेछ । विषयवस्तुको प्रस्तुति र लाइभ डेमोपछि सहभागीलाई तयार पारिएको प्रयोगात्मक वातावरणमा अभ्यास गराइने आयोजकले जनाएको छ ।
को हुन् प्रशिक्षक ?
प्रशिक्षणका मुख्य प्रशिक्षक PostgreSQL योगदानकर्ता तथा Dharma of Data का सह-संस्थापक Nikolay Shaplov हुन् । उनी सन् २००० को सुरुवातदेखि प्रोग्रामिङ क्षेत्रमा सक्रिय छन् । सन् २०१५ देखि Postgres Professional मा आबद्ध Shaplov ले सन् २०१६ देखि PostgreSQL परियोजनामा योगदान गर्दै आएका छन् ।
उनको प्रशिक्षण PostgreSQL का आन्तरिक संरचना र डेटाबेस इन्जिनको कार्यप्रणालीलाई गहिराइमा बुझाउनेमा केन्द्रित हुने आयोजकले जनाएको छ । सुरक्षित सफ्टवेयर विकास तथा डेटाबेस इन्जिनसम्बन्धी उनको अनुभवलाई प्रशिक्षणमा प्रयोगात्मक रूपमा समेटिनेछ ।
कसले सहभागी हुन पाउँछन् ?
प्रशिक्षणमा सहभागी हुन आधारभूत SQL तथा Linux/Unix को ज्ञान आवश्यक पर्नेछ । सहभागीले आफ्नै ल्यापटप ल्याउनुपर्नेछ भने भर्चुअल मेसिन सञ्चालन गर्न पर्याप्त RAM तथा स्टोरेज भएको उपकरण आवश्यक पर्नेछ ।
सहभागीले प्रशिक्षणअघि उपलब्ध गराइएको विद्यार्थी गाइड अध्ययन गरी आवश्यक भर्चुअल मेसिन वातावरण तयार गर्नुपर्नेछ । पूर्वतयारी पूरा गर्न नसक्ने सहभागीले पहिलो दिन बिहान १० बजे प्रशिक्षणस्थलमा पुगेर आफ्नो ल्यापटपमा आवश्यक वातावरण तयार गर्नुपर्नेछ ।
DBA1.2 वा DBA1.3 मा मात्र सहभागी हुनेहरूले सम्बन्धित अघिल्लो चरणका पाठ्यक्रममा समेटिएका विषय वस्तु पुनरावलोकन गरेर आउनुपर्ने आयोजकले जनाएको छ ।
शुल्क र सुविधा
प्रशिक्षणको पूर्ण प्याकेज शुल्क ९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रत्येक दुईदिने ब्लकका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पूर्ण प्याकेजमा सहभागी हुनेलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
सहभागीलाई प्रशिक्षण सामाग्री तथा अभ्यासका लागि करिब १५० पृष्ठका तीन सेट सामाग्री उपलब्ध गराइनेछ । साथै, टी–सर्ट, हल्का खाजा तथा चियाको व्यवस्था गरिनेछ ।
प्रशिक्षण पूरा गर्ने सबै सहभागीलाई प्रशिक्षकबाट हस्ताक्षरित ‘Certificate of Participation’ प्रदान गरिनेछ । उत्कृष्ट सहभागीलाई PostgreSQL सम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणीकरणको तयारी तथा प्रक्रियाबारे समेत मार्गदर्शन गरिने आयोजकले जनाएको छ ।
१५ जनाका लागि मात्र अवसर
आयोजकका अनुसार प्रशिक्षणमा अधिकतम १५ जना मात्र सहभागी हुन पाउनेछन् । सिट सीमित भएकाले भुक्तानीको आधारमा ‘First Pay, First Serve’ प्रणालीबाट सहभागिता सुनिश्चित गरिनेछ ।
प्राविधिक तथा भुक्तानीसम्बन्धी जानकारीका लागि थिन्ले लामा र तालिमको व्यवस्थापन तथा सञ्चालनसम्बन्धी जानकारीका लागि प्रेम दोर्जी लामालाई सम्पर्क गर्न सकिनेछ ।
प्रशिक्षण आयोजना गर्ने Dharma of Data ले नेपालमा PostgreSQL तथा डेटा प्रणालीसम्बन्धी क्षमता विकास र संस्थाहरूलाई विश्वसनीय डेटा प्रणाली निर्माण, सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्दै आएको जनाएको छ ।
आईसीटी समाचार