कीवर्डहरू -

वास्तविक कलाकार कि एआई ? स्पोटीफाइले ल्याउँदै नयाँ पहिचान प्रणाली ‘एआई पर्सोना’

वास्तविक कलाकार कि एआई ? स्पोटीफाइले ल्याउँदै नयाँ पहिचान प्रणाली ‘एआई पर्सोना’

काठमाडौं । संगीत क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएपछि स्पोटीफाइले एआईबाट सिर्जित कलाकार पहिचान गर्न नयाँ लेबल प्रणाली ल्याउने भएको छ । कम्पनीले वास्तविक व्यक्ति नभएका कलाकारका खातामा ‘एआई पर्सोना’ लेबल राख्ने तयारी गरेको हो ।

नयाँ प्रणालीले श्रोतालाई कुनै कलाकार वास्तविक व्यक्ति हुन् वा एआई प्रविधिबाट सिर्जना गरिएको पात्र हुन् भन्ने छुट्याउन सहज बनाउने अपेक्षा गरिएको छ ।स्पोटीफाइका अनुसार कलाकारहरूले अगस्ट ११ देखि Spotify for Artists पोर्टलमार्फत आफ्नो खाता एआईबाट सिर्जना गरिएको हो वा होइन भन्ने जानकारी घोषणा गर्न सक्नेछन् ।

कम्पनीले कलाकारले उपलब्ध गराएको जानकारीसँगै आफ्नै प्रणालीबाट समेत जाँच गर्नेछ । मानव तथा एआई दुवैको सहयोगमा गरिने उक्त परीक्षणबाट कुनै कलाकार वास्तविक व्यक्ति नभएको देखिएमा सम्बन्धित खातामा ‘Likely AI Persona’ लेबल राखिनेछ । यस्तो लेबल राखिएको जानकारी सम्बन्धित खाताधनीलाई समेत दिइनेछ ।

यदि कुनै कलाकारको खातामा गल्तीले उक्त लेबल राखिएको दाबी भएमा सम्बन्धित कलाकारले त्यसविरुद्ध अपिल गर्न सक्ने व्यवस्था स्पोटीफाइले गरेको छ ।स्पोटीफाइका अनुसार ‘एआई पर्सोना’ लेबल सेप्टेम्बरको मध्यदेखि प्रयोगकर्तालाई देखिन थाल्नेछ । सुरुवाती चरणमा यो लेबल मोबाइल एपमा कलाकारको प्रोफाइल, खोजी परिणाम तथा प्लेलिस्टमा गीतको विवरणसँगै देखाइनेछ ।

एआईबाट सिर्जित कलाकारका गीतलाई स्पोटीफाइले डिफल्ट रूपमा प्रयोगकर्ताका व्यक्तिगत सिफारिसमा समावेश नगर्ने जनाएको छ । यसले श्रोतालाई आफूले सुन्न चाहेको संगीतबारे थप जानकारीसहित निर्णय गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

स्पोटीफाइले संगीत क्षेत्रमा एआईको प्रयोगलाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन । कम्पनीले एआईबाट सिर्जित सामग्री पहिचान गर्न कलाकार तथा श्रोताका लागि नयाँ उपकरण विकास गरिरहेको छ । साथै, आफ्नै प्लेटफर्ममा विभिन्न जेनेरेटिभ एआई तथा अन्य एआईमा आधारित सुविधा थप्ने कामलाई पनि निरन्तरता दिइरहेको छ ।

संगीत सिर्जना र वितरणमा एआईको प्रयोग तीव्र भइरहेका बेला स्पोटीफाइको नयाँ लेबल प्रणालीले एआईबाट सिर्जित कलाकार र वास्तविक कलाकारबीचको भिन्नता स्पष्ट पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।