कीवर्डहरू -

गुगलले ल्यायो नयाँ सुविधा : अब एआई फोटो भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने

गुगलले ल्यायो नयाँ सुविधा : अब एआई फोटो भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने

काठमाडौं । गुगलले एआईबाट तयार पारिएका तस्बिर तथा भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने सुविधा ल्याउने भएको छ । कम्पनीका उपाध्यक्ष जोश वुडवर्डका अनुसार प्रयोगकर्ताले अब एआईबाट सिर्जना गरिएको सामाग्रीमा देखिने ‘स्पार्कल’ चिन्ह राख्ने वा हटाउने विकल्प पाउनेछन् ।

यो सुविधा गुगलका ‘नानो बनाना’, ‘ओम्नी’ र ‘लिरिया’ मोडेलमा चाँडै उपलब्ध हुने बताइएको छ । पछि यसलाई गुगलको एआई प्लेटफर्म ‘जेमिनी’ र भिडियो एडिटिङ टुल ‘फ्लो’मा समेत विस्तार गर्ने तयारी छ ।

गुगलको यो निर्णयले एआईबाट सिर्जना भएका सामाग्रीलाई छुट्याउन प्रयोग हुँदै आएको देखिने संकेत हटाउने बाटो खोल्नेछ । हाल एआईबाट बनाइएका तस्बिर तथा भिडियोमा प्रयोग हुने स्पार्कल चिन्ह मानिसलाई उक्त सामाग्री कृत्रिम रूपमा सिर्जना गरिएको हो भन्ने पहिचान गर्न सहज माध्यमका रूपमा प्रयोग हुँदै आएको छ ।

तर, देखिने वाटरमार्क हटाउन मिल्ने भए पनि गुगलले एआई सामाग्री पहिचानका अन्य सुरक्षा प्रणाली भने निष्क्रिय गर्न नमिल्ने जनाएको छ ।

अदृश्य वाटरमार्क भने हटाउन नमिल्ने
गुगलका अनुसार देखिने वाटरमार्क हटाए पनि ‘सिन्थआईडी’ प्रविधिबाट राखिने अदृश्य संकेतमा यसको प्रभाव पर्ने छैन । त्यस्तै, सामाग्रीसँग जोडिएको C2PA मेटाडेटा समेत कायम रहनेछ ।

यसको अर्थ प्रयोगकर्ताले सामग्रीमा देखिने चिन्ह हटाए पनि उक्त सामाग्री एआईबाट सिर्जना गरिएको हो कि होइन भन्ने प्राविधिक रूपमा पहिचान गर्ने आधार पूर्ण रूपमा हराउने छैन । यद्यपि, यस्तो जानकारी पत्ता लगाउन सामान्य प्रयोगकर्ताले थप उपकरण वा सेवाको सहारा लिनुपर्ने हुन सक्छ ।

कानुनी बाध्यता भएका ठाउँमा विकल्प नहुने
वुडवर्डका अनुसार कानुनले एआई सामाग्रीमा देखिने वाटरमार्क अनिवार्य गरेका देशबाहेक अधिकांश स्थानमा यो सुविधा उपलब्ध गराइनेछ । युरोपेली संघले एआई पारदर्शितासम्बन्धी नियममार्फत वास्तविकजस्तो देखिने डीपफेक सामाग्रीमा स्पष्ट रूपमा पहिचान गर्न सकिने संकेत राख्नुपर्ने व्यवस्था अघि बढाएको छ ।

दक्षिण कोरियाले पनि एआईबाट सिर्जना गरिएको सामाग्री पहिचान गर्न यस्तै प्रकारका नियम लागू गर्ने दिशामा कदम चालिसकेको छ । त्यसैले गुगलले कानुनी रूपमा वाटरमार्क अनिवार्य भएका बजारमा भने प्रयोगकर्तालाई यसलाई हटाउने विकल्प नदिने भएको छ ।

सिर्जनशीलता र सुरक्षाबीच सन्तुलनको प्रयास
एआईबाट सिर्जना हुने सामाग्री तीव्र रूपमा बढिरहेका बेला त्यसलाई कसरी चिनाउने भन्ने विषयमा प्रविधि उद्योगमा बहस जारी छ । देखिने वाटरमार्कले सर्वसाधारणलाई एआई सामाग्री र वास्तविक सामाग्री छुट्याउन सहज बनाउँछ । तर, सिर्जनात्मक कामका लागि एआई प्रयोग गर्ने प्रयोगकर्ताका लागि यस्ता चिन्हले सामाग्रीको प्रस्तुति वा डिजाइनमा बाधा पुर्‍याउन सक्ने गुगलको बुझाइ छ ।

वुडवर्डले गुगलको कदमलाई सिर्जनात्मक स्वतन्त्रता र सुरक्षा दुवैलाई ध्यानमा राखेर अघि बढाइएको बताएका छन् । उनका अनुसार कम्पनीले प्रयोगकर्तालाई थप रचनात्मक नियन्त्रण दिने प्रयास गरेपनि एआई सामाग्रीको उत्पत्ति पहिचान गर्ने प्राविधिक सुरक्षा प्रणालीलाई भने निरन्तरता दिइनेछ ।

यससँगै गुगलको नयाँ नीतिले एआई सामाग्रीमा ‘देखिने पहिचान’ र ‘प्राविधिक पहिचान’बीच फरक गर्ने नयाँ अभ्यासलाई अघि बढाउने देखिएको छ ।