कीवर्डहरू -

ह्वाट्सएपमा आउँदैछ नयाँ एआई सुरक्षा फिचर, स्क्याम सन्देश आएलगत्तै दिनेछ चेतावनी

ह्वाट्सएपमा आउँदैछ नयाँ एआई सुरक्षा फिचर, स्क्याम सन्देश आएलगत्तै दिनेछ चेतावनी

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई अनलाइन ठगीबाट जोगाउन नयाँ ‘स्क्याम डिटेक्सन’ फिचर ल्याउने तयारी गरेको छ । कम्पनीले हाल यो फिचरको परीक्षण गरिरहेको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा काम गर्ने यो फिचरले अपरिचित नम्बरबाट आएका सन्देश तथा कुराकानीमा ठगीका सम्भावित संकेत पहिचान गरी प्रयोगकर्तालाई समयमै सचेत गराउनेछ ।

पैसा माग्ने, नक्कली अफर वा पुरस्कारको प्रलोभन देखाउने तथा शंकास्पद लिंकमा क्लिक गर्न लगाउनेजस्ता गतिविधि देखिएमा फिचरले प्रयोगकर्तालाई चेतावनी दिन सक्नेछ ।

फोनमै एआईले जाँच गर्ने
ह्वाट्सएपको स्क्याम डिटेक्सन फिचर सेटिङबाट सक्रिय गर्न सकिनेछ । फिचर अन गरेपछि आवश्यक एआई मोडल प्रयोगकर्ताको मोबाइलमै डाउनलोड हुनेछ । त्यसपछि एआईले अपरिचित व्यक्तिबाट आएका सन्देश तथा च्याटको ढाँचा फोनमै विश्लेषण गर्नेछ ।

कुराकानीमा ठगीसँग सम्बन्धित शंकास्पद गतिविधि भेटिएमा प्रयोगकर्तालाई सम्भावित जोखिमबारे सचेत गराइनेछ । चेतावनी प्राप्त भएपछि प्रयोगकर्ताले उक्त नम्बरलाई ब्लक वा रिपोर्ट गर्न सक्नेछन् ।

ठगी हुनुअघि नै सचेत गराउने उद्देश्य
ह्वाट्सएपले यो फिचरको मुख्य उद्देश्य प्रयोगकर्ता ठगीमा पर्नुअघि नै सम्भावित जोखिमबारे जानकारी गराउनु रहेको जनाएको छ । यद्यपि, नयाँ फिचरले प्रयोगकर्ताको गोपनीयतामा असर पार्ने हो कि होइन भन्ने प्रश्न पनि उठेको छ ।

ह्वाट्सएपमा एन्ड–टु–एन्ड इन्क्रिप्सनको व्यवस्था रहेकाले कम्पनीले एआईमार्फत सन्देश जाँच गर्दा पनि पूरा च्याट सर्भरमा पठाउन नपर्ने बताएको छ । कम्पनीका अनुसार शंकास्पद गतिविधिको पहिचान प्रयोगकर्ताको फोनमै गरिने भएकाले एन्ड–टु–एन्ड इन्क्रिप्सनमा असर पर्ने छैन ।

सबै प्रयोगकर्ताका लागि कहिले आउँछ ?
स्क्याम डिटेक्सन फिचर हाल परीक्षणकै क्रममा रहेको छ । कम्पनीले यसलाई सबै प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध गराउने भन्ने निश्चित मिति भने सार्वजनिक गरेको छैन । परीक्षण सफल भएपछि फिचरलाई थप प्रयोगकर्ताका लागि क्रमश: उपलब्ध गराउने तयारी ह्वाट्सएपको छ ।