कीवर्डहरू -

अस्ट्रेलियामा मेटाको कडा एक्सन, फेसबुक इन्स्टाग्रामका ७ लाख अकाउन्ट हटाइयो

अस्ट्रेलियामा मेटाको कडा एक्सन, फेसबुक इन्स्टाग्रामका ७ लाख अकाउन्ट हटाइयो

काठमाडौं । मेटाले अस्ट्रेलियामा ठूलो कारबाही गर्दै फेसबुक र इन्स्टाग्रामका करिब ७ लाख अकाउन्ट हटाएको छ । हटाइएका अकाउन्टहरू १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तासँग सम्बन्धित रहेको बताइएको छ ।

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नियम लागू भएपछि मेटाले यस्तो कदम चालेको हो । कम्पनीका अनुसार नियम पालना गराउन शंकास्पद अकाउन्ट पहिचान गरी हटाइएको हो ।

मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्मको अवधिमा फेसबुक र इन्स्टाग्रामबाट यी अकाउन्ट हटाइएको हो । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नियम १० डिसेम्बरदेखि लागू भएको थियो ।

उक्त प्रतिबन्धअन्तर्गत फेसबुक, इन्स्टाग्राम, टिकटक र स्न्यापच्याटसहित १० वटा सामाजिक सञ्जाल प्लेटफर्म १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि प्रतिबन्धित छन् ।

अस्ट्रेलियाको सम्बन्धित सरकारी निकायले सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्म प्रयोग गर्नबाट रोक्न उचित कदम चालेका छन् कि छैनन् भन्ने विषयमा निगरानी गरिरहेको छ ।

मेटाले भने कारबाही जारी रहेको र आगामी दिनमा थप अकाउन्ट बन्द हुन सक्ने जनाएको छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सञ्चालन गरेका अकाउन्ट पहिचान गर्न एआई प्रविधि प्रयोग गरिरहेको मेटाले जनाएको छ ।

यसका लागि कम्पनीले प्रयोगकर्ताले उपलब्ध गराएको जानकारीका साथै प्रोफाइल विवरण र प्रयोगकर्ताको गतिविधिसमेत विश्लेषण गर्ने गरेको बताएको छ । अस्ट्रेलियाले नियम पालना नगर्ने सामाजिक सञ्जाल प्लेटफर्ममाथि आगामी दिनमा थप कडा जरिवाना लगाउने तयारी समेत गरेको छ ।