काठमाडौं । स्मार्टफोनलाई सुरक्षित राख्न अहिले पासकोड, पासवर्डसँगै फिंगरप्रिन्ट लकको प्रयोग व्यापक छ । औंलाको छापबाट फोन खोल्न सहज र छिटो हुने भएकाले धेरै प्रयोगकर्ताको रोजाइमा यो सुरक्षा सुविधा पर्ने गरेको छ । तर कहिले काहीँ सही औंला राख्दा पनि स्मार्टफोनले फिंगरप्रिन्ट पहिचान नगर्ने समस्या आउन सक्छ ।
सेन्सरमा धुलो वा फोहोर जम्नु, औंला सही स्थानमा नराखिनु, सफ्टवेयरमा समस्या आउनु लगायतका कारणले यस्तो हुन सक्छ । फिंगरप्रिन्ट स्क्यानरले काम नगर्दा फोन अनलक गर्न समस्या भइरहेको छ भने यी उपाय अपनाउन सकिन्छ ।
सेन्सर र स्क्रिन सफा राख्नुहोस्
फिंगरप्रिन्ट पहिचानमा समस्या आए सबैभन्दा पहिले सेन्सर तथा स्क्रिन सफा छ कि छैन जाँच गर्नुहोस् । यसका लागि नरम माइक्रोफाइबर कपडा प्रयोग गर्न सकिन्छ । पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर भएको फोनमा कभरले सेन्सर छोपेको छ भने कभर हटाएर पनि प्रयास गर्नुहोस् ।
औंला सही ठाउँमा राख्नुहोस्
हतारमा सेन्सरको छेउमा औंला राख्दा स्क्यानरले छाप पहिचान गर्न नसक्न सक्छ । त्यसैले औंलालाई सेन्सरको सही भागमा राखेर केही क्षण स्थिर राख्नुहोस् । औंला अत्यधिक भिजेको, फोहोर वा असामान्य रूपमा सुख्खा हुँदा पनि समस्या आउन सक्छ । सेन्सरमा औंला राख्दा धेरै दबाब दिन आवश्यक हुँदैन ।
फिंगरप्रिन्ट पुनः दर्ता गर्नुहोस्
बारम्बार एउटै समस्या दोहोरिइरहेको छ भने फोनको सेटिङमा गएर पुरानो फिंगरप्रिन्ट हटाई नयाँ छाप दर्ता गर्न सकिन्छ । फिंगरप्रिन्ट दर्ता गर्दा औंलाको विभिन्न भागलाई स्क्यान गराउनु उपयोगी हुन्छ । यसले फोनलाई औंठाछाप पहिचान गर्न सहज बनाउन सक्छ ।
थप औंलाको छाप राख्नुहोस्
कतिपय स्मार्टफोनमा एकभन्दा बढी फिंगरप्रिन्ट दर्ता गर्न सकिने सुविधा हुन्छ । यस्तो सुविधा उपलब्ध भए एउटै हातको अर्को औंला वा अर्को हातको औंलाको छाप पनि सुरक्षित रूपमा राख्न सकिन्छ । एउटा औंलाको छाप पहिचान नभएको अवस्थामा अर्को दर्ता गरिएको औंलाबाट फोन खोल्न सकिन्छ ।
सफ्टवेयर अपडेट जाँच गर्नुहोस्
फिंगरप्रिन्ट स्क्यानरको समस्या हार्डवेयरमा मात्रै निर्भर हुँदैन । कहिले काहीँ फोनको अपरेटिङ सिस्टम वा सफ्टवेयरमा देखिएको त्रुटिका कारण पनि बायोमेट्रिक लकले काम नगर्न सक्छ । त्यसैले फोनको सिस्टम अपडेट तथा उपलब्ध सेक्युरिटी प्याच जाँच गरी आवश्यक परे अपडेट गर्नुहोस् ।
फोन रिस्टार्ट गर्नुहोस्
माथिका उपायले पनि समस्या समाधान भएन भने फोनलाई एकपटक रिस्टार्ट गर्न सकिन्छ । सामान्य सफ्टवेयर गडबडीका कारण फिंगरप्रिन्ट स्क्यानरले काम गर्न छाडेको अवस्थामा रिस्टार्ट गरेपछि समस्या समाधान हुन सक्छ ।
यी उपाय अपनाउँदा पनि फिंगरप्रिन्ट स्क्यानरले लगातार काम नगरेमा सेन्सर वा फोनको हार्डवेयरमा समस्या भएको हुन सक्छ । त्यस्तो अवस्थामा आधिकारिक सर्भिस सेन्टरबाट फोन जाँच गराउनु उपयुक्त हुन्छ ।
आईसीटी समाचार