काठमाडौं । गुगलले फिनल्यान्डको एउटा आणविक ऊर्जा केन्द्रबाट उत्पादित विद्युत्को आधासम्म खरिद गर्ने भएको छ । अमेरिकी प्रविधि कम्पनी गुगलले फिनल्यान्डमा एआई पूर्वाधार विस्तारका लागि कीर्तिमानी १३ अर्ब युरो (करिब १५ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गर्दै यस्तो सम्झौता गरेको हो ।
गुगलका अनुसार यो युरोपमा कम्पनीले एकैपटक गर्न लागेको अहिलेसम्मकै ठूलो लगानी हो । उक्त लगानीबाट फिनल्यान्डमा तीनवटा नयाँ डेटा सेन्टर निर्माण गरिनेछ भने यसअघि सञ्चालनमा रहेको एउटा डेटा सेन्टरको पनि विस्तार गरिनेछ । साथै, एआई सेवाका लागि बढ्दो विद्युत् माग पूरा गर्न आवश्यक ऊर्जा परियोजनामा समेत लगानी गरिने कम्पनीले जनाएको छ ।
‘जिम्मेवार ढंगले एआई पूर्वाधार निर्माण गर्ने फिनल्यान्डको नेतृत्वप्रति यो लगानी हाम्रो विश्वासको प्रमाण हो,’ गुगलले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ । फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले पनि गुगलको निर्णय फिनल्यान्डको क्षमता र सामर्थ्यको स्पष्ट प्रमाण भएको बताएका छन् ।
सम्झौताको महत्वपूर्ण पक्षका रूपमा गुगलले फिनल्यान्डको ऊर्जा कम्पनी फोर्टमसँग २२ वर्षे विद्युत् खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार गुगलले फोर्टमको लोभिसा आणविक ऊर्जा केन्द्रबाट उत्पादन हुने कुल विद्युत्को ५० प्रतिशतसम्म खरिद गर्न सक्नेछ ।
हाल लोभिसा आणविक ऊर्जा केन्द्रले फिनल्यान्डको कुल विद्युत् उत्पादनको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । फोर्टमका अनुसार गुगलसँगको दीर्घकालीन सम्झौताले आणविक ऊर्जा केन्द्रको सञ्चालन अवधि थप्ने तथा उत्पादन क्षमता बढाउने उद्देश्यसहित अघि बढाइने लगानी कार्यक्रमलाई आर्थिक आधार प्रदान गर्नेछ ।
फिनल्यान्ड पछिल्लो समय डेटा सेन्टर निर्माणका लागि प्रविधि कम्पनीहरूको आकर्षक गन्तव्य बन्दै गएको छ । चिसो मौसम, प्रशस्त कम-कार्बन विद्युत् तथा तुलनात्मक रूपमा कम भीडभाड भएको विद्युत् प्रसारण प्रणालीका कारण फिनल्यान्ड डेटा सेन्टरका लागि उपयुक्त मानिन्छ ।
चिसो तापक्रमका कारण ठूलो संख्यामा कम्प्युटर सर्भर राखिएका डेटा सेन्टरलाई चिसो राख्न आवश्यक पर्ने ऊर्जा पनि कम हुन्छ । एआई प्रविधिको तीव्र विस्तारसँगै विश्वभरका प्रविधि कम्पनीहरू ठूलो संख्यामा डेटा सेन्टर सञ्चालन गर्न आवश्यक विद्युत् आपूर्ति सुरक्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
गुगलका अनुसार उसको लगानीबाट निर्माण अवधिमा ३७ हजारभन्दा बढी रोजगारी सिर्जना हुने र फिनल्यान्डको अर्थतन्त्रमा वार्षिक ३.६ अर्ब युरो योगदान पुग्ने अपेक्षा गरिएको छ । नयाँ पूर्वाधार निर्माणको काम सन् २०२७ र २०२८ मा हुने बताइएको छ ।
गुगलले फिनल्यान्डका काजानी, मुहोस र वाला क्षेत्रमा नयाँ डेटा सेन्टर निर्माण गर्नेछ । त्यस्तै, सन् २००९ मा पुरानो कागज कारखानालाई रूपान्तरण गरेर स्थापना गरिएको हामिना डेटा सेन्टरको पनि विस्तार गरिनेछ ।
यी डेटा सेन्टरले गुगलको एआई च्याटबोट जेमिनीसहित सर्च, म्याप्स र युट्युबजस्ता सेवाका लागि आवश्यक कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछन् । गुगलले लगानी प्याकेजमा स्वच्छ ऊर्जा परियोजना तथा जैविक विविधता संरक्षण, शिक्षा, अनुसन्धान र जनशक्ति विकासका लागि प्रकृति तथा सामुदायिक कोष समेत समावेश गरेको जनाएको छ ।
अल्फाबेट तथा गुगलकी अध्यक्ष तथा प्रमुख लगानी अधिकृत रुथ पोराटले फिनल्यान्डमा कम्पनीको उपस्थिति अझ गहिरो बनाउन पाउँदा आफूहरू गर्वित रहेको बताइन् । उनका अनुसार यो लगानीले प्राविधिक पूर्वाधार विस्तारसँगै नयाँ ऊर्जा क्षमता विकास, विद्युत् ग्रिड सुधार तथा ऊर्जा पहुँचलाई थप किफायती बनाउने पहलप्रति गुगलको प्रतिबद्धता देखाउँछ ।
यसअघि यही वर्ष गुगलको मातृ कम्पनी अल्फाबेटले एआई सेवाका लागि आवश्यक कम्प्युटिङ क्षमता विस्तार गर्न विश्वव्यापी लगानी बढाउँदै अधिकतम २०५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्ने योजना सार्वजनिक गरेको थियो ।
यसै साता टिकटकले पनि फिनल्यान्डमा नयाँ डेटा सेन्टर निर्माण गर्न १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो । टिकटकले फिनल्यान्डको बलियो डिजिटल पूर्वाधार, स्वच्छ ऊर्जा मिश्रण, प्रभावकारी डेटा व्यवस्थापन प्रणाली र दक्ष प्राविधिक जनशक्तिलाई लगानीको प्रमुख कारणका रूपमा उल्लेख गरेको थियो ।
फिनल्यान्डका प्रधानमन्त्री ओर्पोले डेटा अर्थतन्त्रको प्रभाव प्रत्यक्ष लगानीमा मात्र सीमित नरहने बताएका छन् । उनका अनुसार यसले नवप्रवर्तन, अनुसन्धान तथा विकासलाई समेत गति दिनेछ । ‘गुगलसँगको सहकार्यलाई अझ गहिरो बनाउँदा दुवै पक्षका लागि दीर्घकालीन लाभ सिर्जना हुनेछ,’ ओर्पोले भने ।
आईसीटी समाचार