काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि मोबाइल फोन आयातकर्ता संघ (एम्पीया) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको जनाइएको छ ।
संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा प्रयोग गरिने संघले जनाएको छ । सहयोग रकम संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले सहयोग तथा सद्भाव देखाउने सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे ।
आईसीटी समाचार