काठमाडौं । एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो ।
बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामाग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको जिम्मेवारी भएकाले उक्त सहयोग रकम नेपाल सरकारलाई उपलब्ध गराएको बताउनुभयो । साथै यस्तो अवस्थामा राहत तथा पुन:स्थापनामा सहयोग गर्न उहाँले सबैसँग आग्रह पनि गर्नुभयो ।
उक्त कम्पनीले उद्धार, राहत तथा पुन:स्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीहरूको प्रयासको प्रशंसा पनि गरेको छ ।
आईसीटी समाचार