कीवर्डहरू -

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले रु १५ करोड सहयोग गरेको छ ।

प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु. १५ करोडको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायत आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुन:स्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन् ।

प्राधिकरणका अनुसार बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद्को व्यवस्थापनका लागि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ ।

विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गरिनेछ ।

निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिन बराबरको रकम योगदान गर्नेछन् । अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्नेछन् ।

त्यस्तै, सहायकस्तरका कर्मचारीबाट दुई दिन र श्रेणीविहीन कर्मचारीबाट एक दिन बराबरको तलब योगदान गरिनेछ । प्राधिकरणका अध्यक्षले १० दिन बराबरको तलब तथा दुईवटा बोर्ड बैठकको भत्ता योगदान गर्ने निर्णय भएको छ ।

बोर्ड सदस्यहरूले पनि दुई दिन बराबरको बोर्ड बैठक भत्ताको रकम विपद् प्रभावितका लागि योगदान गर्नेछन् । भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् ।

विपद्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनुपर्ने भएकाले दूरसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेवा प्रदायकहरूलाई प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले विपद्का समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुन:स्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।