काठमाडौं । क्यामेरा, इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (एआई) एकैपटक प्रयोग गर्न मिल्ने स्मार्ट चस्मा पछिल्लो समय तीव्र गतिमा लोकप्रिय बन्दै गएको छ । फोन गर्नेदेखि एआईसँग कुराकानी गर्ने, फोटो–भिडियो खिच्ने र आँखाअगाडिका वस्तु वा अक्षर पहिचान गर्नेसम्मका सुविधा एउटै चस्मामा उपलब्ध हुन थालेका छन् ।
तर, सुविधा बढेसँगै यसको प्रयोगले नयाँ किसिमको गोपनीयता चुनौती समेत सिर्जना गरेको छ । विशेष गरी सार्वजनिक स्थानमा वरपरका मानिसलाई जानकारी नदिई भिडियो खिच्न सकिने सम्भावनाले सहमति, व्यक्तिगत गोपनीयता र सुरक्षाको विषयलाई बहसको केन्द्रमा ल्याएको छ ।
बेलायतमा करिब ८०० वटा पब सञ्चालन गर्ने वेदरस्पुन्सले यही चिन्तालाई ध्यानमा राख्दै आफ्ना पबहरूमा स्मार्ट चस्माबाट भिडियो रेकर्ड गर्न रोक लगाएको छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने अभियन्ताहरूले पनि यस्तो प्रविधि गलत नियतले प्रयोग भएमा उत्पीडन तथा गोप्य रेकर्डिङका घटना बढ्न सक्ने चेतावनी दिएका छन् ।
तर, अर्कोतर्फ सामाजिक सञ्जालमा स्मार्ट चस्माबाट बनाइएका भिडियोको लोकप्रियता भने बढ्दो छ । टिकटक र इन्स्टाग्राममा यस्ता भिडियोले ठूलो दर्शक पाउन थालेपछि सार्वजनिक स्थानमा स्मार्ट चस्माको प्रयोगलाई कसरी व्यवस्थित गर्ने भन्ने प्रश्न थप पेचिलो बनेको छ ।
सडकका सामान्य भेटघाटदेखि सामाजिक सञ्जालसम्म
उत्तरी आयरल्यान्डको बेलफास्टस्थित बेलीमर्फीका ३१ वर्षीय पियर्स वैलेली स्मार्ट चस्माबाट भिडियो बनाउने सामाग्री निर्माता हुन् । सामाजिक सञ्जालमार्फत आम्दानी गर्दै आएका उनले मेटा र रे-ब्यानको सहकार्यमा बनेको स्मार्ट चस्मा प्रयोग गर्छन् ।
उनले चस्माबाट देखिने दैनिक जीवनका दृश्यलाई भिडियोमा उतार्छन् । सडकमा हिँड्दा भेटिएका मानिससँग छोटो कुराकानी गर्ने, उनीहरूलाई रमाइलो शैलीमा अभिवादन गर्ने र त्यसलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्ने उनका सामाग्रीका मुख्य विशेषता हुन् ।
बेलफास्ट सहर केन्द्रमा बनाइएको उनको एउटा भिडियो टिकटकमा ६ लाखभन्दा बढी पटक हेरिएको थियो । वैलेलीका अनुसार उनका भिडियो सफल हुनुको मुख्य कारण मानिससँगको स्वाभाविक संवाद हो ।
कसैले रेकर्ड नगर्न आग्रह गरेमा आफूले त्यस व्यक्तिसम्बन्धी भिडियो सार्वजनिक नगर्ने उनी बताउँछन् । अहिलेसम्म कसैले आफूले पोस्ट गरेको भिडियो हटाउन माग नगरेको उनको भनाइ छ । उनका अनुसार मानिसले आफ्नो व्यवहारबाट आफू खराब नियतले भिडियो बनाउने व्यक्ति नभएको बुझ्ने गरेका छन् ।
क्यामेरा चलेको कसरी थाहा हुन्छ ?
मेटाका स्मार्ट चस्मामा सानो क्यामेरा जडान गरिएको हुन्छ । चस्मामा रहेको नियन्त्रण प्रणालीमार्फत प्रयोगकर्ताले फोटो वा भिडियो खिच्न सक्छन् । रेकर्डिङ सुरु भएपछि चस्मामा सेतो बत्ती बल्छ ।
आसपास रहेका व्यक्तिले आफूहरूको भिडियो खिचिँदै गरेको थाहा पाऊन् भन्ने उद्देश्यले यस्तो संकेत राखिएको कम्पनीको भनाइ छ । फोटो खिच्दा फ्ल्यास समेत सक्रिय हुन्छ ।
मेटाले हालै चस्माको सफ्टवेयरमा थप सुरक्षा व्यवस्था गरेको छ । रेकर्डिङ भइरहेको जानकारी दिने बत्तीमा कसैले हस्तक्षेप गर्न खोजेमा क्यामेरा काम नगर्ने बनाइएको कम्पनीले जनाएको छ ।
मेटाका अनुसार स्मार्टफोन र परम्परागत क्यामेराभन्दा स्मार्ट चस्माको विशेषता भनेको प्रयोगकर्ताले हात नलगाई फोटो तथा भिडियो खिच्न र एआईसँग संवाद गर्न सक्नु हो । बजार विस्तार हुँदै गएमा आगामी केही वर्षमा स्मार्ट चस्मा प्रयोग गर्ने मानिसको संख्या करिब १० करोड पुग्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।
कानुनले के भन्छ ?
सार्वजनिक स्थानमा स्मार्ट चस्माबाट भिडियो खिच्ने विषयमा कानुनी अवस्था पनि सहज छैन । उत्तरी आयरल्यान्डमा सामान्य सार्वजनिक स्थानमा कसैको भिडियो खिच्नु मात्रलाई प्राय: गैरकानुनी कार्य मानिँदैन । यसको पछाडि सार्वजनिक स्थानमा व्यक्तिले आफ्नो गोपनीयताको पूर्ण प्रत्याभूति अपेक्षा गर्न नसक्ने कानुनी मान्यता छ ।
यद्यपि, रेकर्डिङ उत्पीडन, पछ्याउने व्यवहार, अश्लील सामाग्री उत्पादन वा व्यक्तिले स्वाभाविक रूपमा गोपनीयता अपेक्षा गर्ने स्थानसँग सम्बन्धित भएमा कानुनी कारबाही हुन सक्छ । वैलेली भने प्रविधिलाई पूर्ण रूपमा रोक्नुभन्दा यसको प्रयोग गर्ने व्यक्तिको उद्देश्य हेर्नुपर्ने तर्क गर्छन् ।
उनका अनुसार सामान्य कुराकानीलाई रेकर्ड गर्नु र कसैलाई अप्ठ्यारो पार्ने उद्देश्यले रेकर्ड गर्नु फरक कुरा हो । उनले प्रविधिको प्रयोगले मानिसबीचको प्रत्यक्ष संवाद कम हुँदै गएको अवस्थामा आफूले त्यही प्रविधिमार्फत मानिससँग पुन: संवाद गर्ने प्रयास गरिरहेको बताएका छन् ।
स्मार्ट चस्माले निम्त्याएका विवाद
स्मार्ट चस्माको प्रयोगलाई लिएर सबै प्रयोगकर्ता र सर्वसाधारणबीच भने सहज सम्बन्ध देखिएको छैन । गत डिसेम्बरमा न्युयोर्कको सबवेमा एक महिलाले एक व्यक्तिले लगाएको मेटा स्मार्ट चस्मा फुटाइदिएको घटना सार्वजनिक भएको थियो । घटनापछि सामाजिक सञ्जालमा ती महिलाको समर्थनमा समेत प्रतिक्रिया आएका थिए ।
त्यस्तै, जुलाईमा स्कटल्यान्ड प्रहरीले स्मार्ट चस्माको प्रयोग गरी मानिसहरूको जानकारी बिना भिडियो खिचेर टिकटकमा पोस्ट गरेको आरोपमा एक सामग्री निर्माताविरुद्ध अनुसन्धान थालेको थियो । बेलायतको पब सञ्चालक कम्पनी वेदरस्पुन्सले पनि आफ्ना परिसरमा स्मार्ट चस्माबाट रेकर्डिङ रोक्नुको कारण यस्ता उपकरणले मानिसको जानकारीबिनै निगरानी गर्न सक्ने जोखिम रहेको बताएको छ ।
उत्तरी आयरल्यान्डमा कमिक–कन कार्यक्रम सञ्चालन गर्ने मोनोपोली इभेन्ट्सले पनि गोप्य रेकर्डिङको सम्भावनालाई ध्यानमा राख्दै आफ्ना कार्यक्रममा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमा महिलासँग सम्पर्क गर्ने, फोन नम्बर माग्ने र उनीहरूको प्रतिक्रिया स्मार्ट चस्माबाट रेकर्ड गर्ने सामग्रीसमेत देखिन थालेका छन् । यस्ता सामाग्री ‘हाउ टु गेट गर्लफ्रेन्ड’ लगायतका ह्यासट्यागसहित पोस्ट हुने गरेका छन् ।
महिला अधिकारकर्मी भन्छन्- 'सहमति सबैभन्दा महत्वपूर्ण'
महिला अधिकारका क्षेत्रमा काम गर्ने एलेन क्रोरीले स्मार्ट चस्माको सबैभन्दा ठूलो चुनौती नै मानिसलाई आफू रेकर्ड भइरहेको जानकारी नहुनु रहेको बताएकी छन् । सामान्य क्यामेरा वा मोबाइलबाट कसैले भिडियो खिच्दा त्यसलाई देखेर व्यक्ति सचेत हुन सक्छ ।
आफू क्यामेराको दायरामा परेको थाहा पाएपछि त्यहाँबाट हट्ने वा विरोध गर्ने अवसर पनि हुन्छ । तर, क्यामेरा आँखाअगाडि लगाइने चस्मामै लुकेको अवस्थामा यस्तो अवसर नहुन सक्ने क्रोरीको तर्क छ । उनका अनुसार प्रविधिको दुरुपयोग गरी व्यक्तिको जानकारीबिना संवेदनशील भिडियो खिच्ने वा सामाजिक सञ्जालमा फैलाउने जोखिमलाई बेवास्ता गर्न सकिँदैन ।
कपडामुनिबाट गोप्य भिडियो खिच्नेजस्ता अपराधमा समेत यस्तो प्रविधि प्रयोग हुन सक्ने उनको चिन्ता छ । पीडितले सामाजिक सञ्जाल प्लेटफर्मसँग सामग्री हटाउन अनुरोध गर्न सक्ने भएपनि सबै अवस्थामा प्रभावकारी कानुनी उपचार उपलब्ध नहुन सक्ने उनी बताउँछिन् ।
क्रोरीका अनुसार प्रविधि तीव्र गतिमा विकसित भइरहे पनि त्यसअनुसार कानुनी संरचना विकास हुन सकेको छैन । न्याय विभागले भने मेटा स्मार्ट चस्माको नियमन प्रत्यक्ष रूपमा आफ्नो अधिकार क्षेत्रमा नपर्ने जनाएको छ । तर, स्मार्ट चस्माको प्रयोग गरेर अपराध गरिएमा अन्य विद्यमान कानुन नै लागू हुने विभागको भनाइ छ ।
कम देख्ने मानिसका लागि भने उपयोगी प्रविधि
गोपनीयताको विषयमा प्रश्न उठे पनि स्मार्ट चस्माले केही व्यक्तिका लागि जीवन सहज बनाउने प्रविधिको रूपमा काम गरिरहेको छ । बेलफास्टमा मेटा स्मार्ट चस्मा बिक्री गर्ने नेत्र विशेषज्ञ ज्योफ म्याककनभिलले यसको दुरुपयोग हुन सक्ने जोखिम स्वीकार गर्दै दृष्टिसम्बन्धी समस्या भएका मानिसका लागि यसको उपयोग निकै महत्वपूर्ण रहेको बताएका छन् ।
उनका केही बिरामीले चस्माको ‘टेक्स्ट–टु–स्पिच’ सुविधा प्रयोग गरिरहेका छन् । यसमार्फत एआईको सहयोगमा लिखित सामाग्री पढ्न, सडकका संकेत बुझ्न तथा वरपरका सूचनाबारे जानकारी लिन सकिन्छ ।
विशेष गरी वृद्ध तथा कम देख्ने व्यक्तिका लागि यस्तो प्रविधि उपयोगी भएको म्याककनभिलको अनुभव छ । मेटाले पनि स्मार्ट चस्मालाई केवल मनोरञ्जन वा सामाजिक सञ्जाल सामाग्री उत्पादन गर्ने उपकरणका रूपमा मात्र नहेर्न आग्रह गरेको छ । कम देख्ने वा सुन्न समस्या भएका व्यक्तिका लागि यसले उपयोगी सहायक प्रविधिको काम गर्न सक्ने कम्पनीको भनाइ छ ।
मेटाका अनुसार केही स्थानमा रेकर्डिङ निषेध गर्नु उचित हुन सक्छ । तर, सबै सार्वजनिक स्थानमा स्मार्ट चस्मामाथि पूर्ण प्रतिबन्ध लगाउनु प्रविधिको उपयोगमा ठूलो अवरोध हुने कम्पनीको तर्क छ । कम्पनीले स्पष्ट र समान नियम बनाएर प्रविधिको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने बताएको छ ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले पनि हालैको प्रश्न–उत्तर कार्यक्रममा अरू व्यक्तिलाई हानि पुर्याउने वा उनीहरूको फाइदा उठाउने उद्देश्यले तयार गरिएका सामग्री प्लेटफर्ममा स्वीकार्य नहुने बताएका छन् । त्यस्ता सामाग्री भेटिएमा हटाउन सकिने उनको भनाइ छ ।
स्मार्ट चस्माको प्रयोग विस्तार हुँदै जाँदा अब बहस यसको उपयोगी पक्षमा मात्र सीमित छैन । व्यक्तिगत स्वतन्त्रता, सहमति र गोपनीयता जोगाउँदै नयाँ प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने प्रश्न यसको आगामी विकाससँगै अझ महत्वपूर्ण बन्ने देखिन्छ ।
आईसीटी समाचार