काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) मा नाम, ठेगाना, जन्ममिति, नागरिकता नम्बरलगायत विवरण गलत छ भने अब यातायात कार्यालय धाइरहनुपर्ने बाध्यता कम हुने भएको छ ।
यातायात व्यवस्था विभागले लाइसेन्समा रहेका व्यक्तिगत विवरण अनलाइन प्रणालीमार्फत सच्याउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । विभागले चालु आर्थिक वर्षदेखि प्रयोगमा ल्याएको नयाँ ईडीएलभिआरएस प्रणालीमा भदौदेखि ‘लाइसेन्स सच्याउने आवेदन’ सुविधा थप गरेको हो ।
विभागका निर्देशक तथा प्रवक्ता केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्रमा रहेको विवरणका आधारमा सवारी चालक अनुमतिपत्रमा भएका त्रुटि सच्याउन सकिनेछ ।
तर, लाइसेन्समा सच्याउन खोजिएको विवरण राष्ट्रिय परिचयपत्रमा समेत सही रूपमा कायम भएको हुनुपर्नेछ । राष्ट्रिय परिचयपत्रमै विवरण गलत भए पहिले सम्बन्धित निकायबाट त्यसलाई सच्याउनुपर्ने विभागले जनाएको छ ।
कसरी सच्याउने लाइसेन्सको विवरण ?
लाइसेन्सको विवरण सच्याउन सेवाग्राहीले आफू सम्बन्धित प्रदेशको ईडीएलभिआरएस पोर्टलमा जानुपर्नेछ । प्रदेशअनुसार छुट्टाछुट्टै पोर्टल रहेकाले सम्बन्धित प्रदेशको प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि बागमती प्रदेशका सेवाग्राहीले गुगलमा ‘EDLVRS Bagmati’ खोजेर सम्बन्धित पोर्टलमा प्रवेश गर्न सक्छन् । पोर्टल खुलेपछि होमपेजमा रहेको ‘लाइसेन्स सच्याउने आवेदन’ (License Correction Application) विकल्प छनोट गर्नुपर्छ ।
त्यसपछि प्रणालीले माग गरेका प्रारम्भिक विवरण भर्नुपर्छ । यस क्रममा आफ्नो नाम, राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रको फोटो राख्नुपर्ने हुन्छ । त्यसपछि सवारी चालक अनुमतिपत्र नम्बर प्रविष्ट गर्नुपर्छ ।
अर्को चरणमा जन्ममिति (ईस्वी संवत्), लिङ्ग, मोबाइल नम्बर र इमेल ठेगाना राखेर ‘Continue’ बटन थिच्नुपर्छ । त्यसपछि सेवाग्राहीको मोबाइल नम्बरमा ओटीपी कोड पठाइनेछ । प्राप्त ओटीपी कोड प्रविष्ट गरेपछि लाइसेन्स विवरण सच्याउने ड्यासबोर्डमा प्रवेश गर्न सकिनेछ ।
के–के विवरण सच्याउन सकिन्छ ?
ड्यासबोर्डमा पुगेपछि सेवाग्राहीले आफूलाई आवश्यक परेको विवरण संशोधनका लागि अनुरोध पठाउन सक्छन् । यसमा नाम तथा थर, जन्ममिति, बुबाआमाको नाम, मोबाइल नम्बर, इमेल ठेगाना, स्थायी तथा अस्थायी ठेगानालगायत विवरण सच्याउन सकिनेछ ।
तर, अनलाइन आवेदनमा राखिने नयाँ विवरण राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको विवरणसँग मिल्नुपर्नेछ । सबै विवरण भरेपछि आफूले प्रविष्ट गरेका जानकारी सही भएको पुष्टि गर्नुपर्नेछ ।
त्यसपछि ‘Submit Update Request’ विकल्पमा क्लिक गरेर आवेदन अगाडि बढाउन सकिन्छ । अन्तिम चरणमा आफूले सच्याउन लागेको विवरण पुन: देखाइनेछ । विवरण जाँच गरेपछि ‘Yes, Submit’ मा क्लिक गर्नुपर्नेछ ।
कार्यालयबाट स्वीकृति भएपछि मात्र अपडेट
अनलाइनबाट आवेदन पठाएपछि त्यसलाई सम्बन्धित यातायात कार्यालयले परीक्षण गर्नेछ । सेवाग्राहीले सच्याउन खोजेको विवरण राष्ट्रिय परिचयपत्रमा रहेको विवरणसँग मेल खान्छ कि खाँदैन भन्ने यकिन गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीले आवेदन स्वीकृत गर्नेछन् ।
कार्यालयबाट आवेदन स्वीकृत भएपछि मात्र लाइसेन्सको विवरण अपडेट हुनेछ । त्यसपछि सेवाग्राहीले अनलाइन प्रणालीमै आफ्नो अद्यावधिक भएको कार्ड हेर्न सक्ने विभागले जनाएको छ । यस सुविधाले लाइसेन्समा सामान्य विवरण त्रुटि भएका सेवाग्राहीलाई कार्यालयसम्म पुगेर आवेदन दिने झन्झट घटाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार