काठमाडौं । नेपालका दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ आनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन् ।
आइटियुको दूरसञ्चार विकास ब्युरोले गत सेप्टेम्बर २२ मा खनाललाई उक्त जिम्मेवारीका लागि नियुक्त गरेको हो । उनले अक्टोबर १ देखि नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालयमा पदभार सम्हालेका छन् ।
आइटियुको आधिकारिक विवरणअनुसार खनालले दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको नेतृत्व गर्नेछन् । यससँगै दक्षिण एसियामा दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) विकास, डिजिटल रूपान्तरण र नवप्रवर्तनसँग सम्बन्धित काममा उनको भूमिका रहनेछ ।
तीन दशकभन्दा लामो समयदेखि दूरसञ्चार तथा आइसिटी क्षेत्रमा सक्रिय खनालले डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणमा उनले १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर जिम्मेवारी सम्हालेका थिए । प्राधिकरणमा रहँदा उनले दूरसञ्चार तथा आइसिटी नीति र नियमन, ब्रोडब्यान्ड विस्तार, साइबर सुरक्षा, डिजिटल सेवा तथा अपाङ्गता भएका व्यक्तिको आइसिटी पहुँचलगायतका क्षेत्रमा काम गरेका थिए ।
राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण, साइबर सुरक्षा सचेतना तथा मूल्याङ्कन, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान र साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाका लागि भएका विभिन्न पहलमा समेत खनालको संलग्नता रहेको थियो ।
आईसीटी समाचार