काठमाडौं । बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुन:स्थापनाको काम तीव्र बनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणाली मर्मत गरी धार्चे गाउँपालिकाबाहेकका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा ल्याइएको छ ।
खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा ठूलो क्षति पुगेकाले विद्युत् सेवा पुन: सञ्चालन गर्न कठिनाइ भइरहेको छ । यद्यपि, खोर्लाबेंसीसम्म जतिसक्दो चाँडो विद्युत् पुर्याउने लक्ष्यसहित काम भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रका अनुसार धार्चे गाउँपालिकामा पनि आज बिहानैदेखि विद्युत् सेवा पुन:स्थापनाको काम सुरु गरिएको छ । यसअघि आरुघाट क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याइसकिएको छ ।
मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुनासाथ प्राधिकरणले पुनःस्थापनाको काम सुरु गरेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा पुन: सञ्चालन गरिएको थियो ।
त्यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाका डाँडागाउँ र आरुपोखरी शाखामा पनि विद्युत् आपूर्ति पुन:स्थापना भइसकेको छ । मन्त्रालयले बाढीबाट प्रभावित सबै क्षेत्रमा यसै हप्ताभित्र विद्युत् सेवा पुन: सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।
जलविद्युत् आयोजना र विद्युत् वितरण प्रणालीमा ठूलो क्षति
ऊर्जा मन्त्रालयका अनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ । बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामाग्रीमा क्षति पुगेको छ ।
साथै, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलसमेत क्षतिग्रस्त भएका छन् । त्यस्तै, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुगेको छ । सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा रहेका विद्युत् वितरण लाइनका पोलहरूमा पनि क्षति भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ स्थित स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा विद्युत् पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुन:स्थापना गरी प्रभावित क्षेत्रका बासिन्दालाई यथाशीघ्र विद्युत् सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ ।
आईसीटी समाचार