काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढाउन आग्रह गरेका छन् । अझै पनि करिब ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमै पुग्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यस्तो अवस्थालाई क्रमश: परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
डिजिटल भुक्तानीको प्रयोग बढाउन सचेत नागरिकको सहयोग आवश्यक रहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठका अनुसार डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्दा नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुनुका साथै नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा समेत बढ्छ ।
त्यस्तै, महसुल संकलन काउन्टर सञ्चालनमा प्रयोग भइरहेको स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनले बताए । मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् ।
ती काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताएका छन् । यसको मासिक खर्च करिब ५ करोड रुपैयाँ रहेको छ । उनले ठूलो संख्यामा नागरिक अझै काउन्टरमै पुगेर महसुल तिर्नुपर्ने अवस्थालाई डिजिटल भुक्तानीको माध्यमबाट परिवर्तन गर्न सकिने बताए ।
मन्त्री श्रेष्ठले परिवार, इष्टमित्र, छरछिमेकी तथा परिचितहरूलाई डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्ने तरिका सिकाउन र प्रोत्साहित गर्न समेत आग्रह गरेका छन् ।विशेष गरी डिजिटल भुक्तानी गर्न नजान्ने अभिभावक, ज्येष्ठ नागरिक तथा आफन्तलाई एकपटक भुक्तानी प्रक्रिया सिकाइदिन उनले आग्रह गरे ।
उनले सम्भव भएसम्म आजैदेखि डिजिटल माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न र अरूलाई पनि त्यसतर्फ प्रोत्साहित गर्न अपिल गरेका छन् ।
आईसीटी समाचार