काठमाडौं । तपाईंको ड्राइभिङ लाइसेन्समा उल्लेख भएको मोबाइल नम्बर गलत छ ? पुरानो नम्बर बन्द भइसकेको छ वा अरूकै नाममा दर्ता भएको सिम प्रयोग गरिरहनुभएको छ ? अब यस्तो समस्या समाधान गर्न यातायात कार्यालय धाइरहनुपर्ने झन्झट नहुन सक्छ । आफ्नो ड्राइभिङ लाइसेन्समा रहेको मोबाइल नम्बर अनलाइनबाटै अद्यावधिक गर्न सकिने सुविधा उपलब्ध छ ।
मोबाइल नम्बर परिवर्तन गर्न सबैभन्दा पहिले यातायात व्यवस्था विभागको आधिकारिक अनलाइन प्रणाली https://edlvrs.dotm.gov.np मा जानुहोस् । वेबसाइट खुलेपछि आफ्नो सम्बन्धित प्रदेश छनोट गर्नुहोस् ।
त्यसपछि देखिने 'सवारी चालक अनुमति पत्र विवरण' विकल्पमा क्लिक गरी आफ्नो पूरा नाम, लाइसेन्स नम्बर र जन्ममिति सही रूपमा प्रविष्ट गर्नुहोस् । आवश्यक विवरण भरेपछि अगाडि बढ्नुहोस् ।
त्यसपछि मोबाइल नम्बर अद्यावधिक गर्ने विकल्प उपलब्ध भएमा त्यसमा क्लिक गर्नुहोस् । आफ्नो नयाँ मोबाइल नम्बर प्रविष्ट गरी 'अद्यावधिक गर्नुहोस्' बटन थिच्नुहोस् । प्रणालीले मागेको आवश्यक प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि मोबाइल नम्बर परिवर्तन गर्न सकिन्छ ।
यस सुविधामार्फत लाइसेन्समा पुरानो मोबाइल नम्बर उल्लेख भएको, नम्बर गलत भएको वा अन्य व्यक्तिको नाममा दर्ता भएको सिम प्रयोग भइरहेको अवस्थामा नयाँ नम्बर राख्न सहज हुन्छ । यसले सामान्य नम्बर परिवर्तनका लागि यातायात कार्यालयसम्म पुग्नुपर्ने झन्झट र समय बचत गर्न मद्दत पुर्याउँछ ।
आईसीटी समाचार