काठमाडौं । युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्दै स्थानीय स्रोत साधन र जनशक्तिको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु भएको छ ।
‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानले सातवटै प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्न अभियान सञ्चालन गरिएको बताइन् । उनका अनुसार युवामा नवीन सोच, सीप र व्यावसायिक क्षमता भए पनि आवश्यक लगानी, मार्गदर्शन तथा बजारसम्मको पहुँच अभावमा धेरै सम्भावनायुक्त व्यवसायले सुरुवातमै गति लिन सकेका छैनन् ।
उनले स्टार्टअप व्यवसाय दर्ता प्रक्रियालाई सहज र सरल बनाउन, स्टार्टअप कर्जा उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन तथा राम्रो व्यावसायिक योजना हुँदा हुँदै धितो अभावमा लगानी प्राप्त गर्न नसकेका युवालाई वित्तीय पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी अनुदान तथा सहयोगलाई उत्पादन वृद्धि र रोजगारी सिर्जनासँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले युवालाई उद्यमशीलतामा प्रोत्साहित गर्न तालिम, बीउ पुँजी (सिड मनी) तथा व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले स्टार्टअप व्यवसायको विकासका लागि वित्तीय पहुँच, लगानीको वातावरण र प्रभावकारी व्यावसायिक योजनाको आवश्यकताबारे धारणा राखेका थिए ।
समिटअन्तर्गत सातवटै प्रदेशबाट चारदेखि पाँचवटासम्म उत्कृष्ट स्टार्टअप छनोट गरिनेछ । प्रदेशस्तरबाट छनोट भएका स्टार्टअपलाई समेटेर काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने आयोजकको योजना छ ।
आईसीटी समाचार