काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रविधि अवार्डका रूपमा परिचित आईसीटी अवार्ड २०२६ का सेमिफाइनलिस्टहरूका लागि मेन्टरिङ सेसन आयोजना गरिएको छ ।
बिहिबार आयोजित उक्त कार्यक्रममा प्रविधि क्षेत्रका नेतृत्वकर्ता, अनुभवी उद्यमी तथा विज्ञहरूले सहभागीहरूलाई व्यवसाय सञ्चालन, स्टार्टअप यात्रा र उद्यमशीलतासम्बन्धी महत्वपूर्ण सुझाव तथा अनुभव आदानप्रदान गरेका छन् ।

मेन्टरिङ सेसनमा सुमन शाक्य, मोना न्याछ्यों, रिचन श्रेष्ठ, ध्रुव अधिकारी, रञ्जित आचार्य, सञ्जोग कोइराला, इ. उमेश गुप्ता, रवि न्यौपाने र प्रमिश खनालले विभिन्न विषयमा आफ्नो अनुभव तथा ज्ञान साझा गरेका थिए ।
कार्यक्रममा व्यवसायको मोडल निर्माण, स्टार्टअप सुरु गर्दाका चुनौती तथा अवसर, नेपालको उद्यमशीलताको अवस्था, व्यवसाय सञ्चालनका कानुनी प्रक्रिया तथा अनुपालन र नयाँ उद्यमीहरूका लागि उपलब्ध सम्भावनालगायतका विषयमा छलफल गरिएको थियो ।

अनुभवी उद्यमी तथा क्षेत्रगत विज्ञहरूबाट प्राप्त व्यावहारिक ज्ञान र सुझावले सेमिफाइनलिस्टहरूलाई आफ्नो व्यवसाय तथा परियोजनालाई थप परिष्कृत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, कार्यक्रमले सहभागीहरूलाई विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने, अनुभव साटासाट गर्ने र नयाँ सम्भावनाबारे बुझ्ने अवसर समेत प्रदान गरेको छ ।

आईसीटी अवार्डको यात्रामा अगाडि बढिरहेका प्रतिस्पर्धीहरूका लागि यस्तो मेन्टरिङ सेसनले उनीहरूको व्यावसायिक क्षमता, नेतृत्व कौशल तथा नवप्रवर्तनसम्बन्धी सोचलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
आईसीटी समाचार