कीवर्डहरू -

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जानुहुने भएको छ ।

आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको नीति निर्माण र नेतृत्व चयनमा नेपालको सहभागिता
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था हो । यसले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तर्राष्ट्रिय समन्वय र डिजिटल कनेक्टिभिटी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रत्येक चार वर्षमा आयोजना हुने ITU को महासम्मेलन संस्थाको सर्वोच्च नीति निर्धारण गर्ने सम्मेलन हो । यसले संघको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व निर्धारण गर्दछ ।

महासम्मेलनका क्रममा हुने ITU को उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्ने कार्यक्रम रहेको छ । यस सहभागिताले अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रका नीति तथा निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्नेछ ।

द्विपक्षीय भेटवार्ता र अन्तर्राष्ट्रिय सहकार्य विस्तार
महासम्मेलनको अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । भेटवार्तामा सम्बन्धित मुलुकहरूले दूरसञ्चार क्षेत्रको विकास र सुधारमा हासिल गरेका उपलब्धि, सफल अभ्यास तथा अनुभव आदानप्रदान गर्नुका साथै आपसी हितका क्षेत्रमा सम्भावित प्राविधिक तथा संस्थागत सहकार्यका अवसरहरूबारे छलफल गरिनेछ ।

विशेष गरी दूरसञ्चार पूर्वाधारको विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगजस्ता विषयमा अन्तर्राष्ट्रिय अनुभव र सहकार्यका सम्भावनाहरू पहिचान गर्न भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा सक्रिय सहभागिता जनाउँदै नेपालको डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको छ ।