काठमाडौं । एक समय थियो, जतिबेला आफूले चाहेर पनि गलत व्यक्तिलाई पठाएको वा गल्तीले पठाएको म्यासेज डिलिट गर्न सकिँदैनथ्यो । तर अहिले धेरैजसो मेसेजिङ एपमा ‘अनसेन्ड’ गर्ने सुविधा उपलब्ध छ । यसका कारण गल्तीले म्यासेज पठाइहाले पनि त्यसलाई हटाउन सकिन्छ ।
आफूले पठाएको म्यासेज अनसेन्ड गर्न पाउँदा त ठीकै हुन्छ । तर, कहिले काहीँ कसैले आफूलाई पठाएको म्यासेज अनसेन्ड गर्दा भने त्यसमा के लेखिएको थियो होला भन्ने खुल्दुली लाग्न सक्छ ।
अनसेन्ड गरिएका म्यासेज हेर्न विभिन्न एप डाउनलोड गर्न सकिन्छ । तर, यस्ता कतिपय एप साइबर सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुन सक्छन् । त्यसैले कुनै पनि अतिरिक्त एप डाउनलोड नगरी एन्ड्रोइड स्मार्टफोनको बिल्ट-इन फिचर प्रयोग गरेर अनसेन्ड गरिएका म्यासेज कसरी हेर्न सकिन्छ भन्नेबारे यहाँ जानकारी दिँदैछौँ ।
यसका लागि एन्ड्रोइड फोनमा उपलब्ध ‘Notification History’ अर्थात् नोटिफिकेसन हिस्ट्री फिचर प्रयोग गर्न सकिन्छ । यो सुविधा सक्रिय गरेपछि फोनमा आएका नोटिफिकेसनहरूको विवरण सुरक्षित रहन्छ ।
त्यसैले म्यासेजिङ एपबाट कुनै सन्देश अनसेन्ड वा डिलिट गरिएपनि त्यसको नोटिफिकेसनमा देखिएको केही अंश पढ्न सकिन्छ । म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता एपबाट आएका म्यासेजका नोटिफिकेसन पनि यसमा देखिन सक्छन् ।
नोटिफिकेसन हिस्ट्री कसरी सक्रिय गर्ने ?
यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् :
१. सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनको ‘Settings’ एप खोल्नुहोस् ।
२. त्यसपछि ‘Notifications’ विकल्पमा जानुहोस् ।
३. त्यहाँ रहेको ‘Notification History’ विकल्पमा ट्याप गर्नुहोस् ।
४. अब ‘Use Notification History’ वा ‘Notification History’ विकल्पलाई अन गर्नुहोस् ।
यसपछि फोनमा प्राप्त हुने नोटिफिकेसनहरू हिस्ट्रीमा सुरक्षित हुन थाल्छन् । कसैले म्यासेज पठाएर पछि अनसेन्ड गरेमा त्यसको नोटिफिकेसनमा देखिएको सन्देशको अंश यहाँ हेर्न सकिन्छ ।
कति समयसम्म हेर्न सकिन्छ ?
एन्ड्रोइडको नोटिफिकेसन हिस्ट्रीमा सामान्यतया पछिल्लो २४ घण्टाका नोटिफिकेसनहरू मात्र सुरक्षित रहन्छन् । त्यसपछि पुराना नोटिफिकेसनहरू स्वत: हट्छन् ।
ध्यान दिनुपर्ने कुरा: यो फिचर सक्रिय गर्नुअघि नै डिलिट वा अनसेन्ड भइसकेका म्यासेज हेर्न सकिँदैन । त्यस्तै, म्यासेजको पूरा विवरण देखिने ग्यारेन्टी पनि हुँदैन । नोटिफिकेसनमा म्यासेजको पूर्वावलोकन आएको हुनुपर्छ ।
नोटिफिकेसन बन्द गरिएको, म्युट गरिएको वा केही एपको विशेष सेटिङका कारण म्यासेज नदेखिन पनि सक्छ । फोनको ब्रान्ड र एन्ड्रोइड संस्करणअनुसार सेटिङको नाम तथा स्थान फरक हुन सक्छ ।
आईसीटी समाचार