काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त्रालयको समन्वयमा स्थापना गरिएको उक्त केन्द्रले साइबर ठगीविरुद्ध चौबीसै घण्टा सेवा प्रदान गर्न थालेको हो ।
सामाखुसीस्थित नेपाल प्रहरी साइबर ब्यूरोको नयाँ भवनमा स्थापना गरिएको यस केन्द्रले बैंक तथा वित्तीय संस्था, सुरक्षा निकाय, नियामक निकाय र प्रविधि सेवाप्रदायकबीच प्रत्यक्ष समन्वय कायम गर्नेछ । यसबाट अनलाइन ठगीका घटना हुनासाथ सम्बन्धित निकायले एकै ठाउँबाट तत्काल आवश्यक कदम चाल्न सक्नेछन् ।
केन्द्रको सञ्चालन तथा नियमनमा नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को मुख्य भूमिका रहनेछ । यसका साथै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली सञ्चालक, नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवाप्रदायक (आईएसपी) का प्रतिनिधिहरू पनि केन्द्रमा रहेर संयुक्त रूपमा काम गर्नेछन् ।
सरकारका अनुसार साइबर ठगीका घटना सार्वजनिक हुना साथ सम्बन्धित बैंक खाता रोक्का गर्न, शंकास्पद वित्तीय कारोबार नियन्त्रण गर्न तथा दूरसञ्चार र इन्टरनेट सञ्जालको सहयोगमा अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न यो संयन्त्र प्रभावकारी हुनेछ । यसले ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रक्रिया पनि छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।
यसैबीच, केन्द्रले सर्वसाधारणका लागि आकस्मिक हटलाइन नम्बर १२४७ समेत सञ्चालनमा ल्याएको छ । अनलाइन स्क्याम, डिजिटल वित्तीय ठगी वा अन्य शंकास्पद साइबर गतिविधिमा परेका नागरिकले उक्त नम्बरमा फोन गरेर चौबीसै घण्टा सूचना दिन तथा उजुरी दर्ता गराउन सक्नेछन् ।
डिजिटल कारोबारको बढ्दो प्रयोगसँगै साइबर ठगीका घटना पनि बढिरहेका बेला स्थापना गरिएको यस केन्द्रले नागरिकको आर्थिक सुरक्षालाई थप मजबुत बनाउने र डिजिटल प्रणालीप्रतिको विश्वास बढाउने सरकारको अपेक्षा छ ।
आईसीटी समाचार