भोजपुर । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश सरकारले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त वेबसाइटमार्फत मुन्दुम पदमार्गको पर्यटकीय विशेषता, पदयात्राका गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति लगायतका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ ।
टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार ‘टुरिजम डट कोशी डट जिओभी डट एनपी’ वेबसाइटमा मुन्दुम पदमार्गका साथै कोशी प्रदेशका अन्य पर्यटकीय स्थलसम्बन्धी विवरण समेत समावेश गरिएको छ । यसले पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आवश्यक सूचना प्राप्त गर्न र यात्रा योजना बनाउन सहज बनाउने अपेक्षा गरिएको छ ।
वेबसाइटमा पदमार्गको अवस्थिति, यात्राका सम्भावित गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे विवरण राखिएको छ । डिजिटल माध्यमबाट उपलब्ध हुने यी जानकारीले पर्यटकलाई पदयात्राअघि आवश्यक तयारी गर्न तथा यात्राका क्रममा गन्तव्य पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
भोजपुर र खोटाङलगायत पूर्वी पहाडी जिल्लाका विभिन्न क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग प्राकृतिक र सांस्कृतिक विविधताका कारण विशेष महत्व बोकेको गन्तव्य हो । यहाँबाट देखिने हिमाली दृश्य, रमणीय पहाडी भूभाग, किरात समुदायको मौलिक संस्कृति तथा ऐतिहासिक र धार्मिक स्थलले पदमार्गलाई पर्यटकमाझ आकर्षक बनाउँदै आएका छन् ।
नयाँ वेबसाइट सञ्चालनमा आएसँगै मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार हुने अपेक्षा गरिएको छ । साथै, पर्यटकको आगमन बढाउन, स्थानीय घरबास (होमस्टे), होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायको विकास गर्न र स्थानीय बासिन्दाको आर्थिक गतिविधि विस्तार गर्नसमेत यसले सहयोग पुर्याउने विश्वास गरिएको छ ।
पर्यटकीय गन्तव्यको जानकारीलाई डिजिटल माध्यमबाट विश्वभर पुर्याउने प्रयासले मुन्दुम पदमार्गलाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्न र पूर्वी नेपालको पर्यटन विकासमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार