कीवर्डहरू -

बिरामीको शरीरको डिजिटल प्रतिरूप बनाएर रोग र उपचारको नतिजा पहिल्यै अनुमान गरिने

बिरामीको शरीरको डिजिटल प्रतिरूप बनाएर रोग र उपचारको नतिजा पहिल्यै अनुमान गरिने

काठमाडौं । बिरामीको स्वास्थ्य अवस्था, रोगको सम्भावित विकासक्रम र उपचारको प्रभावकारिता पहिल्यै आकलन गर्न सकिने नयाँ प्रविधि विकास गर्ने तयारी स्पेनको बार्सिलोनास्थित एक अस्पतालले गरेको छ ।

बार्सिलोनाको भल डी’हेब्रोन अस्पतालले प्रमुख प्रविधि कम्पनीहरूसँग सहकार्य गरी ‘ह्युमन डिजिटल ट्विन’ नामक प्रविधि विकास गर्न लागेको हो । यस प्रविधिले बिरामीको शरीरका अंग वा स्वास्थ्य अवस्थाको कम्प्युटरमा डिजिटल प्रतिरूप तयार गरेर रोगको अवस्था र उपचारका सम्भावित परिणाम विश्लेषण गर्न सहयोग पुर्‍याउनेछ ।

अस्पतालको डायग्नोस्टिक रेडियोलोजी विभागका निर्देशक डा. मानेल एस्कोबारका अनुसार डिजिटल प्रतिरूपको सहायताले कुनै बिरामीमा रोग कसरी विकसित हुन सक्छ भन्ने अनुमान गर्न सकिनेछ । त्यस्तै, उपलब्ध उपचारका विकल्पमध्ये कुन विधि बढी प्रभावकारी हुन सक्छ र उपचारपछि बिरामीको स्वास्थ्यमा कस्तो परिवर्तन आउन सक्छ भन्ने पनि परीक्षण गर्न सकिनेछ ।

यो प्रविधि विकास गर्न बिरामीको मेडिकल इमेजिङ, प्रयोगशाला परीक्षणका नतिजा, आनुवंशिक विवरण तथा अन्य चिकित्सकीय तथ्याङ्क प्रयोग गरिनेछ । ती विवरणलाई एकीकृत गरी कम्प्युटेसनल मोडेल तयार पारिनेछ । त्यसमा कृत्रिम बुद्धिमत्ता (एआई) र मानव शरीरभित्र हुने जैविक प्रक्रियासम्बन्धी वैज्ञानिक मोडेलसमेत समावेश गरिने अस्पतालले जनाएको छ ।

डा. एस्कोबारका अनुसार यस प्रविधिले जन्मजात तथा जटिल प्रकृतिका रोगको उपचार व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याउन सक्छ । विशेषगरी मुटुसम्बन्धी रोगको उपचारमा यसको प्रयोग उपयोगी हुने अपेक्षा गरिएको छ । माइग्रेनजस्ता सामान्य स्वास्थ्य समस्याको उपचारमा समेत डिजिटल ट्विन प्रविधि प्रयोग गर्न सकिने सम्भावना रहेको उनले बताए ।

यस परियोजनाका लागि युरोपेली क्षेत्रीय विकास कोष (ईआरडीएफ) ले १ करोड १७ लाख युरो अर्थात् करिब १ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आगामी तीन वर्षसम्म अस्पतालका विशेषज्ञ र प्रविधि साझेदारहरूले विभिन्न चिकित्सा तथा शल्यचिकित्सा विधिका लागि उन्नत कम्प्युटेसनल मोडेल विकास गर्नेछन् । परियोजनाको मुख्य उद्देश्य डिजिटल ट्विन प्रविधिलाई प्रयोगात्मक अध्ययनबाट अघि बढाएर वास्तविक चिकित्सकीय अभ्यासमा प्रयोग गर्न सकिने स्तरमा पुर्‍याउनु रहेको छ ।

‘ह्युमन डिजिटल ट्विन’ प्रविधि सफल भएमा चिकित्सकले बिरामीको व्यक्तिगत स्वास्थ्य विवरणका आधारमा विभिन्न उपचार विकल्पको सम्भावित प्रभाव पहिल्यै अध्ययन गर्न सक्नेछन् । यसले प्रत्येक बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार उपचार छनोट गर्न तथा चिकित्सा सेवालाई थप प्रभावकारी र व्यक्तिगत बनाउन नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।