काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व परिवर्तन भएको छ । कम्पनीले प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
एनभिडियाले बिहीबार जारी गरेको विज्ञप्तिमा क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको जानकारी गराएको हो । उनले नयाँ जिम्मेवारीसँगै सीएफओको पदसमेत सम्हाल्नेछिन् । कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट योग्य उम्मेदवारको खोजी गर्ने जनाएको छ ।
यसअघि कम्पनीको नेतृत्व गरिरहेका जेन्सेन हुआङले अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन् । उनको बहिर्गमनको कारणबारे कम्पनीले आधिकारिक रूपमा विस्तृत जानकारी दिएको छैन । यद्यपि, रोयटर्सले सञ्चालक समितिले उनलाई पदबाट हटाएको दाबी गरेको छ ।
वित्तीय क्षेत्रको लामो अनुभवले क्रेसलाई नेतृत्वको जिम्मेवारी
एनभिडियाको नयाँ नेतृत्वमा आएकी क्रेससँग प्रविधि उद्योगको वित्तीय व्यवस्थापनमा तीन दशकभन्दा लामो अनुभव छ । उनी सन् २०१३ देखि एनभिडियाको वित्तीय विभागको नेतृत्व गर्दै आएकी छन् ।
सन् २०१३ सेप्टेम्बरमा कार्यकारी उपाध्यक्ष तथा सीएफओका रूपमा एनभिडियामा प्रवेश गरेकी उनले कम्पनीको वित्तीय रणनीति, लगानी योजना, व्यावसायिक विस्तार र आर्थिक प्रतिवेदनको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।
कम्पनीका त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा उनी नियमित रूपमा हुआङसँगै लगानीकर्तासामु उपस्थित हुने गर्थिन् । एनभिडियाको तीव्र व्यावसायिक विस्तारका क्रममा वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ ।
एनभिडियामा आबद्ध हुनुअघि क्रेसले टेक्सास इन्स्ट्रुमेन्ट्स, माइक्रोसफ्ट र सिस्कोजस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीमा काम गरिसकेकी छन् । उनले टेक्सास इन्स्ट्रुमेन्ट्समा आठ वर्ष वित्तीय क्षेत्रमा काम गरेपछि सन् १९९७ मा माइक्रोसफ्ट प्रवेश गरेकी थिइन् । त्यहाँ सन् २०१० सम्म विभिन्न वित्तीय जिम्मेवारी सम्हालेकी उनले सन् २००६ मा सर्भर एन्ड टुल्स डिभिजनको सीएफओको जिम्मेवारी पाएकी थिइन् ।
माइक्रोसफ्ट छाडेपछि सन् २०१० मा उनी सिस्कोमा वरिष्ठ उपाध्यक्ष तथा सीएफओका रूपमा आबद्ध भइन् । त्यहाँ उनले कम्पनीको व्यावसायिक प्रविधि तथा सञ्चालनसम्बन्धी वित्तीय रणनीति र विकासको जिम्मेवारी सम्हालेकी थिइन् । त्यसको तीन वर्षपछि उनी एनभिडियामा पुगेकी हुन् ।
शैक्षिक योग्यतादेखि अर्बौं डलरको सम्पत्तिसम्म
क्रेसले युनिभर्सिटी अफ एरिजोनाबाट वित्त विषयमा स्नातक गरेकी छन् । त्यसपछि उनले साउदर्न मेथोडिस्ट युनिभर्सिटीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) हासिल गरेकी हुन् । उनका शैक्षिक विवरण एनभिडियाले अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख छन् ।
फर्च्युन पत्रिकासँग सन् २०२४ मा कुराकानी गर्दै उनले एनभिडियामा प्रवेश गर्दा आफूले काम गरेका अन्य कम्पनीको तुलनामा यो निकै सानो कम्पनी रहेको बताएकी थिइन् । तर, पछिल्ला वर्षमा एनभिडियाले कृत्रिम बौद्धिकता (एआई) र चिप प्रविधिको क्षेत्रमा अभूतपूर्व विस्तार गरेको छ ।
कम्पनीको यही वृद्धिसँगै क्रेसको व्यक्तिगत सम्पत्तिसमेत उल्लेख्य रूपमा बढेको छ । फोर्ब्सको सन् २०२६ को अमेरिकाका धनी स्वनिर्मित महिलाको सूचीमा उनी ३२ औँ स्थानमा रहेकी छन् ।
रोयटर्सका अनुसार बुधबार सेयर बजार बन्द हुँदाको मूल्यका आधारमा एनभिडियामा उनको स्वामित्वमा रहेको सेयरको मूल्य करिब ७५ करोड अमेरिकी डलर पुगेको थियो । गत महिना कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुग्दा उनको सेयरको मूल्य एक अर्ब डलरभन्दा बढी भएको थियो ।
नयाँ सञ्चालक समिति अध्यक्षमा हार्भी जोन्स
हुआङको बहिर्गमनसँगै एनभिडियाको सञ्चालक समितिमा पनि नेतृत्व परिवर्तन भएको छ । कम्पनीले हार्भी सी जोन्सलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । जोन्स सन् १९९३ देखि एनभिडियाको सञ्चालक समितिमा आबद्ध छन् । उनले यसअघि सिनोप्सिस कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्षका रूपमा काम गरिसकेका छन् ।
हुआङको बहिर्गमनसँग जोडियो व्यक्तिगत सम्बन्ध र सुरक्षा चासो
एनभिडियामा भएको नेतृत्व परिवर्तनको पृष्ठभूमिमा हुआङसँग जोडिएका व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षा चासोसम्बन्धी विषय समेत चर्चामा आएका छन् । रोयटर्सका अनुसार हुआङका दुईवटा विवाहबाहिरका सम्बन्धबारे समाचार सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले उनको नेतृत्वबारे निर्णय गरेको थियो ।
तीमध्ये एउटा सम्बन्ध चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग जोडिएको बताइएको छ । यद्यपि, ती महिलामाथि लागेको जासुसीसम्बन्धी आरोप पुष्टि भएको छैन । एनभिडियाको सञ्चालक समितिले नोभेम्बर ८ मा जारी गरेको विज्ञप्तिमा हुआङ विदेशी गुप्तचर निकायको प्रभावमा परेको हुन सक्ने विषयमा स्वतन्त्र छानबिन सुरु गरिएको जनाएको थियो ।
त्यसबेला समितिले हुआङ र उनको नेतृत्व टोलीप्रति विश्वास कायम रहेको पनि स्पष्ट पारेको थियो । तर, बिहीबार जारी विज्ञप्तिमा भने हुआङले अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्यबाट राजीनामा दिएको जानकारी दिइएको छ ।
एनभिडियाजस्तो विश्वव्यापी प्रविधि कम्पनीको नेतृत्व परिवर्तनले कम्पनीको आगामी व्यावसायिक रणनीति, वित्तीय व्यवस्थापन र एआई चिप बजारमा पर्ने प्रभावबारे चासो बढाएको छ । अब अन्तरिम नेतृत्व सम्हालेकी क्रेसले कम्पनीलाई कसरी अघि बढाउँछिन् भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।
आईसीटी समाचार